कांग्रेस सांसदद्वारा बहिष्कार, पाँच अध्यक्षको सुनुवाइ मंगलबार  



काठमाडौं : मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध उजुरी दिने उजुरकर्तालाई संसदीय सुनुवाइ समितिले मंगलबार छलफल गर्न बोलाएको छ । 

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आइतनबार बसेको समिति बैठकले उजुरीकर्तालाई बोलाउने निर्णय गरेको हो । उजुरीकर्तासँग छलफल गरेपछि समितिले प्रस्तावित पाँच आयोगका अध्यक्षको संसदीय सुनुवाइ गर्नेछ । कांग्रेसका सांसदहरुले भने बैठक बहिष्कार गरेका छन् । 

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीविरुद्ध समितिसमक्ष चारवटा उजुरी परेको छ । अन्सारीले बुझाएको स्नातक उत्तीर्णको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै उनलाई अनुमोदन नगर्न मागसहित उजुरी परेको छ । उनको शैक्षिक योग्यताको छानविन गर्नसमेत उजुरीमा माग गरिएको छ । 

यस्तो उजुरी परेपछि उजुरीकर्तासँग छलफल गर्नका लागि मंगलबार बोलाउने निर्णय भएको समितिका सचिव ध्रुवप्रसाद घिमिरेले बताए । छलफलपछि संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिहरुलाई बोलाइने उनले जानकारी दिए । 

अन्सारीबाहेक प्रस्तावित अन्य चार अध्यक्षविरुद्ध भने एउटा पनि उजुरी परेको छैन । संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक तथा वितीय आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको थियो । 

त्यो सिफारिस अहिले संसदीय सुनुवाइ समितिसमक्ष विचाराधीन छ । समितिले अनुमोदन गरेपछि प्रस्तावित अध्यक्षहरुको नियुक्ति हुनेछ । समितिले कुनै पनि प्रस्तावित व्यक्तिलाई दुई तिहाई बहुमतबाट अस्वीकृत गर्नसक्नेछ ।  

समितिको बैठक चलिरहँदा आफ्ना मागबारे सुनुवाइ नभएको भन्दै कांग्रेसका सांसदहरुले बहिष्कार गरेका छन् । प्रतिपक्षी दलका नेताको अनुपस्थितिबिना भएको संवैधानिक परिषद् बैठकको सिफारिस असंवैधानिक भन्दै कांग्रेस सांसदहरुले समितिको बैठक बहिष्कार गरेका हुन् । समितिको सुनुवाइ प्रक्रियामा आफूहरु संलग्न नहुने कांग्रेसकी सांसद पुष्पा भुसालले बताइन् । 

‘परिषद्को पहिलो र दोस्रो बैठकमा लिखित रुपमै प्रतिपक्षी नेतालाई बोलाउनुपर्ने प्रावधान छ, तर प्रतिपक्षी नेतालाई बोलाइएन’, भुसालले भनिन्–‘निर्णय प्रतिलिपी झिकाउन माग राख्दा पनि वेवास्ता गरियो, यस्तो बैठकमा उपस्थितिको कुनै अर्थ रहेन ।’ समितिको बैठकमा पहिले गरेको बहिष्कारकै निरन्तरता रहेको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस्