सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई कांग्रेसको समर्थन, प्रस्ताव पारित हुने पक्का



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको समर्थन गर्ने भएको छ ।

आइतबार बसेको कांग्रेस पदाधिकारीको बैठकले भारतीय अतिक्रमणमा परेको लम्पियाधुरा, कालापानी र लिपेलुकलाई समेटेर जारी गरिएको नक्सालाई संविधानको अंग बनाउने गरी निशान छापमा समावेश गर्न सरकारले ल्याएको संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।

सरकारले अतिक्रमित नेपाली भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेलगत्तै निशान छाप परिवर्तनका लागि शुक्रबार संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थियो ।

कांग्रेस संशोधनको पक्षमा उभिएपछि सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित हुने पक्का भएको छ । योसँगै भारतले वषौंदेखि अतिक्रमण गरेको कालीपानी क्षेत्रको नेपाली भूभाग अब संवैधानिक रुपमा नेपालको भूभाग भित्र समेटिने भएको छ ।

संविधान संशोधनलाई अघि बढाउन पदाधिकारी बैठकले निर्णय लिएको बताउँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने–‘कांग्रेसले यस विषयमा पहिल्यैदेखि नै प्रष्ट धारणा राखेको थियो, अहिले पनि राख्दै आएको छ । सविधान संशोधन प्रस्ताव प्रकृयामा अघि बढाउन कांग्रेसले आग्रह गरेको छ ।’

साथै नक्सा र निशाना छापमा नेपाली भूभाग समेटिएर मात्रै नहुने भन्दै भारतसँगको उच्चस्तरको कुटनीतिक संवादबाट भूमि नै फिर्ता ल्याउने पहल सरकारलाई गर्न आग्रह समेत गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्