सोमबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना



काठमाडौं : पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार मौसममा केही सुधार भई घाम लागे पनि भोलि सोमबारबाट देशभरिकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिंदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने मौसमविद् बासीले बताए ।

राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौंका अधिकतम तापक्रम २०.३ डिग्री र न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै जुम्लाको तापक्रम माइनस एकमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । 

प्रतिक्रिया दिनुहोस्