एमसीसी विवाद टुंग्याउन शीर्ष नेता आन्तरिक गृहकार्यमा



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे लामो समयदेखि रहेको बिवाद टुंग्याउन शीर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन् ।

एमसीसी परियोजनाको पक्ष र विपक्षमा सत्तारुढ नेकपा भित्र चर्को बहस हुँदै आएको छ । मुख्यत यसका सर्तलाई लिएर नेताहरुले पारित गर्ने र नगर्ने भन्दै बिगत लामो समयदेखि बहसमा उत्रिए पनि नेकपाले टुंगो लगाउन सकेको छैन ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले लामो समयदेखि विवादित रहेको एमसीसी परियोजना बारेको बिवाद टुंगो लगाउन आन्तरिक रुपमा छलफल भइरहेको बताए ।

‘पार्टीमा लामो समयदेखि एमसीसी परियोजनाको बारेमा छलफल भइरहेको छ, यसका सर्तलाई लिएर पक्ष र बिपक्षमा बहस भए पनि टुंगो लाग्न सकेको छैन’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गृहकार्य भइरहेको छ, लामो समयसम्म विवादित बनाएर राख्नुहुदैन् ।’

नेकपाको बैठकदेखि सार्वजनिक कार्यक्रममा समेत एमसीसी परियोजनाको सर्तलाई लिएर नेताहरु दुई चिरामा बिभाजित छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले गरेको सम्झौता र मुलुक तथा जनताको पक्षमा भएकाले पारित गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

तर, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालले एमसीसी परियोजनाका केही सर्त संशोधन गरेर पारित गर्नुपर्ने अडानमा उभिदै आएका छन् । मुलुक र जनताको हितविपरित रहेका ति सर्त संशोधन नगरिए पारित गर्न नदिने भन्दै यसको सार्वजनिक रुपमा मात्रै नभई पार्टीको बैठकमा समेत बिरोध हुने गरेको छ ।

तर, सरकारले नीति तथा कार्यक्रममा एमसीसी परियोजनाका केही कार्यक्रम समेटेपछि नेकपा भित्र थप विवाद शुरु भएको छ । त्यसबारेमा स्पष्ट पार्न भन्दै खनाल र स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीलाई पत्र पनि लेखेर प्रश्न गरिसकेका छन् । संसदबाटै प्रधानमन्त्री ओलीले घुमारो तरिकाले पारित गर्ने अडानसहित खनाल र रावललाई जवाफ फर्काएका थिए ।

नेकपाको गत १५–१९ माघमा भएको केन्द्रीय कमिटी बैठकले एमसीसी परियोजनाबारे अध्ययन गर्न कार्यदल गठन भएको थियो । कार्यदलले प्रस्तुत गरेको सो प्रतिबेदन अनुसार यथास्थितिमै सो सम्झौता कार्यान्वयन नगर्न सुझाव दिएको थियो ।

तर सरकारले सो सम्झौतामा उल्लेखित आयोजना आफ्नो नीति तथा कार्यक्रममा समाबेश गरेपछि त्यसबारेमा आपती जनाउँदै तत्कालिन कार्यदलका संयोजक खनाल र सदस्य रावलले आपती जनाए । कार्यदलका अर्का सदस्य एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रधानमन्त्री ओलीकै लाइनमा उभिदै आएका छन् । ज्ञवालीले सो सम्झौता संसदबाट पारित गर्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच एमसीसी परियोजना र त्यसका सर्तका बारेमा नेकपा सचिवालय सदस्यहरुले एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टसँग समेत छलफल गरेका छन् । बिष्टका साथै खनाल, रावल, ज्ञवालीसहित नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ लगायतका नेताहरुसँग छुट्टाछुट्टै छलफल भएको छ । तर, छलफलमा नेताहरु आफ्नो पुरानै अडानसहित प्रस्तुत भएपछि टंगो लगाउन शीर्ष नेताहरुलाई सकस भएको छ ।

प्रतिक्रिया दिनुहोस्