प्रहरीकै मिलेमतोमा कुखुरा तस्करी, नेपाली व्यवसाय चौपट



कैलाली :  कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरुबाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । 

यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारतबाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण नेपाली व्यवसायीहरुले दर्जनौ कुखुरा फर्म बन्द गरेका हुन । 

नेपालका फर्महरुमा उत्पादन भएको कुखुराको मूल्य भारतीय कुखुराभन्दा केही महंगो हुनेगरेको छ । चल्ला खरीद, दानापानी, विद्युत्, ढुवानीमा लागत भारतभन्दा नेपालमा बढी लाग्ने गरेकोले मूल्यमा केही भिन्नता हुनेगरेको कुखुरा व्यवसायीहरुको भनाई छ ।

यसरी महंगो लागतमा उत्पादन गरेका कुखुराजन्य उत्पादनहरुले लागत अनुसारको मूल्य नपाउने नेपाली बजारमा प्रचलित मूल्यमा पनि बिक्रि नहुने भन्दै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको सम्बद्ध व्यवसायीहरुले गुनासो गरेका छन् । 

कुखुरा व्यावसाय सञ्चालन गर्दै आएका कञ्चनपुर पुनर्बास नगरपालिका १० का स्थानीय व्यवसायी वीरबहादुर तामाङले अवैध कारोबारीका कारण आफ्नो व्यवसाय नै धरासयी भएको बताए ।

उनी भन्छन ‘हामीले अवैध तरिकाले ल्याएको कुखुरा समाएर प्रहरीलाई बोलाउँदासमेत प्रहरी आएर छोडिदिन्छ । मैले भारतबाट आउने कुखुरा नियन्त्रण गर्न लिखित निवेदन दिए तर प्रहरीले आँखै अगाडिबाट कुखुरा लैजाँदासमेत नदेखे झैं गर्छ ।’

यता प्रहरी चौकी पचकडियाका प्रहरी सहायक निरीक्षक मोहन सिंहले बिहेका लागि ल्याइएको कुखुरा मात्रै छाड्ने गरको बताए ।

कुखुरा तस्करीमा प्रहरीकै सेटिङ 

कैलाली र कञ्चनुरका सीमानाकाहरुमा तैनाथ घुमुवा प्रहरीहरुसँग मिलेमतोमा अवैध कारोबारी र तस्करहरुले अवैध कुखुरा नेपाल भित्र्याउने गरेका छन् । 

यसरी भित्रिने कुखुराजन्य उत्पादनहरु अधिकांश भारतीय ढुवानीकर्ताहरुले नेपाली बजारसम्म पुर्याउँछन ।

भारतीय बजारका एक ढुवानीकर्ता भन्छन्–‘अलगअलग ठाउँबाट आएका घुमुवा प्रहरीलाई मिलाउनुपर्दा कमाइ नै हुँदैन । सबैलाई मिलाउनुपर्छ नत्र एउटाले छोडे अर्कोले समाउँछ । सेटिङ भएपछि भने ढुक्कसँग काम गर्न पाइन्छ ।’

प्रहरीको यस्तो सेटिङ कबाडीवालादेखि ठूला कारोबारीहरुसम्म हुने गरेको उनीहरु बताउँछन । नेपाल प्रहरीकै सेटिङमा तस्करहरुले भारतबाट किरानाका सामान, खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामान, मलखाद, साना चल्ला, ब्रोइलर कुखुरा लगायतका सामानहरु निर्बाध रुपमा नेपाल भित्र्याउने गरेको किसानहरुले गुनासो गरेका छन् ।

कैलाली र कञ्चनपुरका अधिकांश व्यवसायीहरुले प्रहरीकै कारण व्यवसाय धरासयी भएको गुनासो गरेका छन् । लाखौंको लगानीमा निर्माण भएका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन ।

पुर्नबास नगरपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बिहानको समयमा सामान ओसारपसार हुँदा प्रहरी मस्त निद्रामा हुनेगरेको र सोही समयमा चोरीपैठारी हुने गरेको बताए । उनले भारतबाट निर्बाध रुपमा अवैध तरिकाले भित्र्ने सामानले गर्दा नेपाली व्यावसाय चौपट भएको दाबी  गरे । 

यता ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी प्रमुख कर्णबहादुर बलले भने यसरी प्रहरीको सेटिङमा अवैध कुखुरा भित्रिएको आफूहरुले फेला नपारेको दाबी गरे । उनले सिमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण भएको पनि दाबि गरे । प्रहरी प्रमुख बमले घुमुवा प्रहरीको बारेमा भने केही बोल्न चाहेनन् । 

 

प्रतिक्रिया दिनुहोस्