आमिरको मागका कारण ओशो बायोपिक पेन्डिङमा



एजेन्सी : आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि डिजिटल वल्र्डमा डेब्यु गर्ने खबर सार्वजनिक भएको थियो । उनी नेटफ्लिक्ससँग मिलेर ओशोको जीवनमा आधारित एक सिरिज लिएर आउँदैछन् भन्ने खबर आएको थियो । 

यो वेब सिरिजलाई शकुन बत्राले निर्देशन गरिरहेका थिए । आमिर ओशोमाथि बन्ने यो वेब सिरिजमा मुख्य भूमिका निर्वाह गर्ने खबर आइरहेको छ । अब नेटफ्लिक्सको यो सिरिज स्थगित गरेको बताइएको छ । रिपोर्टका अनुसार आमिर खानले नेटफ्लिक्सको यो सिरिजका लागि अत्यधिक पैसाको माग गरेका छन् जसका कारण निर्माताले यो प्रोजेक्टलाई स्थगित गर्दै विचार गर्नका लागि समय माग गरेका छन् । 

खबरका अनुसार आमिर खानले निर्मातासँग जुन रकम मागेका छन् त्यो उनीहरूलाई धेरै लाग्यो । दुई पक्षबीच यसबारे कुराकानी पनि भयो तर आमिर खान आफ्नो शुल्क कम गर्ने पक्षमा छैनन् । त्यसकारण निर्माण पक्षले अहिले ‘ओशो बायोपिक’ सिरिज होल्ड गरेका छन् । 

आमिर खानसँग यो सिरिजमा आलिया भट्ट पनि साइन गराउन लागिएको थियो । उनी यसमा ओशोकी सहयोगी आमा आनन्द शीलाको भूमिकामा रहने बताइएको थियो ।

आमिर खान ओशोजस्तै देखिन निकै परिवर्तन हुनुपर्दथ्यो । यो वेब सिरिजका लागि आमिरले निकै मिहिनेत पनि गर्नुपर्दथ्यो । यो लामो समयसम्म चल्ने प्रोजेक्ट हो । त्यसकारण यसमा निकै अघिदेखि काम सुरु गरिँदै थियो ।

अब आमिर खानले टि–सिरिजको ठूलो बजेटको बायोपिक फिल्म ‘मोगुल’ का लागि हरियो झन्डा देखाएका छन् । मिटु अभियानका कारण आमिर खान यो प्रोजेक्टबाट अलग्गिएका थिए । तर, अहिलेसम्म निर्माताले ‘मोगुल’ कहिलेदेखि सुरु हुन्छ भन्ने आधिकारिक घोषणा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्