
जनकपुरधाम : नेपाली कांग्रेस जनकपुरधामको नगर सम्मेलन सुरू भएको छ ।
सम्मेलनको उद्घाटन पार्टी उपसभापति विमलेन्द्र निधिले गरेका छन् । सम्मेलनको उद्घाटनसत्रमा नेताहरूले पार्टीभित्र विद्यमान अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा पार्टीलाई पराजित हुनुपरेको बताए । उनीहरूले दुःखदायी निर्वाचन परिणामबाट पाठ सिक्दै पार्टी संगठनलाई मजबुत गर्नुपर्नेमा जोड दिए ।
पार्टी नेताहरूले कम्युनिस्ट सरकारको गलत कामका बारेमा पार्टीले जनतामाझ बहस चलाउनुपर्ने भन्दै जनताका हितमा कांग्रेसले संसद् र सडक दुवैबाट आवाज उठाउनुपर्ने बताए । कांग्रेस जनकपुरधामका सभापति मनोज साहको अध्यक्षता जारी सम्मेलनमा प्रदेश २ संसद्मा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू रामकृष्ण यादव, महेन्द्र यादवलगायतले आआफ्ना मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय, जिल्ला तथा नगरका नेताकार्यकर्ताको सहभागिता छ ।