क्वारेन्टाइनमा रहेका एकै परिवारका ३ जनाको आरडीटी पोजेटिभ



जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

जलेश्वर नगरपालिका वडा नम्बर–१ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आईतबार आरडिटी परिक्षण गर्दा एकै परिवारका ५५ वर्षीय बुबा र २६ तथा १६ वर्षका दुई छोराको पोजेटिभ रिजल्ट आएको हो ।

महोत्तरीको खैरा घर भएका उनीहरु गत बैशाख ९ गते भारतको दिल्लीबाट आएर सो क्वारेन्टाइनमा बसेका थिए । आरडिटी परिक्षण पश्चात पोजेटिभ रिजल्ट आएपछि उनीहरुलाई निगरानीका लागि जिल्ला अस्पताल जलेश्वरमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले बताए ।

जिल्ला अस्पताल जलेश्वरमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको निर्माण कार्य सम्पन्न हुन बाँकी रहेकै अवस्थामा संक्रमित आएपछि अस्पतालमा त्रासको वातावरण सिर्जना हुनुका साथै भवन अभावका कारण अस्पतालको नियमित सेवा समेत बाधित हुने सम्भावना बढेको नेपाल बिद्यार्थी संघका महोत्तरी जिल्ला अध्यक्ष आशुतोष झा नविनले बताए ।

प्रतिक्रिया दिनुहोस्