सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी 



काठमाडौं : सरकारी चिकित्सकहरुले सामूहिक राजीनामा दिने लगायतका सशक्त र चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले आइतबार सरकारविरुद्ध थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समायोजना विधेयक सच्याउन सरकारलाई दबाब दिदै एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष समायोजन विधेयक सच्याउनका लागि एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरू गर्ने निर्णय गरिएको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए।

गोदानले राखेको मागलाई वेवास्ता गरी प्रतिनिधिसभाबाट विधेयक पारित भएको भन्दै देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिन सोमबार स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गरिने कार्यक्रम राखिएको छ ।

यस्तै मंगलबार माइतीघर मण्डलामा उपस्थित भइ सर्वसाधारणलाई सहयोगका लागि अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने अध्यक्ष पाण्डेले बताए।

बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि मागप्रति सरकारले बेवास्ता गरिए सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरू गरिने चेतावनी गोदानले दिएको छ ।

सरकारी चिकित्सकको वृत्तिविकास रोकिने गरी सरकारले समायोजन विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरूले दोस्रो चरणको सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्