दाङका गरिमा धान पीडितले क्षतिपूर्ति पाउने



दाङ : दाङका गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष गरिमा धान रोगले सखाप भएपछि किसानले पटकपटक क्षतिपूर्तिको माग गर्दै आएका थिए । सोहीअनुसार दाङ देउखुरीका २७७ किसानले क्षतिपूर्ति पाउने भएका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको क्षतिपूर्तिका लागि रु १५ लाख ८८ हजार विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र गरेको छ । अबको केही दिनभित्र उनीहरुलाई वितरण गरिने नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताए । गरिमा धान लगाउने किसानलाई प्रतिकिलो रु एक हजार ३१५ का दरले क्षतिपूर्ति प्रदान गरिने उनको भनाइ छ ।

पीडितका लागि पठाइएको रकम सम्बन्धित वडा कार्यालय मार्फत वितरण गरिनेछ । उत्पादन राम्रो हुने र नेपालको हावापानीमा उपयुक्त भएको जनाउँदै किसानले सो बीउ लगाए पनि फल्ने समयमा समस्या देखिएको थियो ।

क्षतिपूर्ति नपाएको जनाउँदै किसानले लमही नगरपालिका वडा नम्बर ३ स्थित टिकुलीगढमा सञ्चालित सनराइज एग्रिकल्चर प्रालिमा तालाबन्दीसमेत गरेका थिए । उक्त प्रालिले गत वर्ष वैशाख र जेठमा प्रतिकिलो रु २६० का दरले चार एग्रोभेट सेन्टरलाई बिक्री गरेको थियो । प्रालिले भारतको हैदरावादबाट ३४ हजार किलो धान खरीद गरी २२ हजार किलो बिक्री गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्