‘नाम मिथिला–भोजपुरा, भाषा मैथिली’



जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ का लागि मिथिला–भोजपुराबाहेक अन्य नाम कांग्रेसलाई मान्य नहुने बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित कांग्रेसको नगर सम्मेलनमा उपसभापति निधिले प्रदेश २ को ऐतिहासिक र सांस्कृतिक भूमिसँग मिथिलाको इतिहास र पहिचान जोडिएकाले प्रदेशको नाम मिथिला–भोजपुरा हुनुपर्ने प्रस्ट पारे ।

उनले देशभरिमै नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषा मैथिली भएको भन्दै प्रदेशको भाषा मैथिली हुनुपर्ने बताए । उनले भने, ‘भोजपुरीलगायतका अरू भाषा पनि राख्न सकिन्छ । तर, पहिलो ग्राह्यता मैथिलीलाई दिनुपर्छ ।’ 

उपसभापति निधिले प्रदेशको नाम मिथिला भोजपुरा र भाषा मैथिली राख्नका लागि दबाव दिन पार्टीका प्रदेशसभा सदस्यलाई आग्रह गरे । उनले नामकरण र भाषा टुंगो लगाउने क्रममा कुनै जालझेल वा षड्यन्त्र भए आन्दोलन गर्न समेत प्रदेशसभा सदस्यलाई निर्देशन दिए । 

उनले वीरगन्जस्थित बिपी उद्यानको जग्गा प्रदेश सरकारले पूर्ववत् बिपी उद्यानकै नाममा फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिए ।  उनले संघ सरकार लोकतन्त्र र संघीयताविरोधी रहेको चर्चा गर्दै संघ र प्रदेश सरकारले एक वर्षमा गरेको जनविरोधी क्रियाकलाप र गर्नुपर्ने भए पनि नगरिएका विकास कार्यको सूची तयार पारेर वडावडा र टोलटोल गई जनतालाई बुझाउन पार्टी नेताकार्यकर्तालाई निर्देशन दिए । 

उनले जनतामाझ गएर विगतमा भएका कमीकमजोरीलाई स्विकार्दै जनविरोधी सरकारको पर्दाफास गरी लोकतन्त्र, संघीयता र विकासका लागि कांग्रेसले नै कार्य गर्ने प्रचारप्रसार गर्न समेत नेताकार्यकतालाई अह्राए । 

कांग्रेस जनकपुरधामका सभापति मनोज साहको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटनसत्रमा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, पूर्वमन्त्रीद्वय रामकृष्ण यादव, महेन्द्रराय यादव, प्रदेश २ संसद्मा पार्टी संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य प्रमिला दासलगायतका नेताले संघ सरकार र प्रदेश सरकार जनविरोधी रहेको भन्दै संगठित भएर अघि बढ्न कांग्रेसीजनलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्