एउटै स्थानीय तहमा करौडौंको हिनामिना



वीरगन्ज : पर्साको धोबिनी गाउँपालिका कार्यालय भष्ट्राचारको अखाडा बन्दै गएको छ । कार्यालयका नगद तथा जिन्सी लिई फरार भएका गाउँपालिकाका कर्मचारीहरूलाई कारबाही हुन सकेको छैन । स्थानीय सरकार गठन भएको पहिलो वर्ष आव २०७४÷०७५ मा गाउँपालिका कार्यालयमा व्यापक भ्रष्टाचार भइरहेको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परिरहेका छन् ।

उजुरीका आधारमा अख्तियारले छापामारी ७० हजार घुस रकमसहित दुई कर्मचारीलाई पक्राउ गर्यो। लेखाअधिकृत कृष्णानन्दन यादव र नासु एनामुल हक अन्सारी अख्तियारको फन्दामा परे । दुई कर्मचारी पक्राउ परेपछि प्रमुख कार्यकारी अधिकृत सरोज चौधरी पनि फस्ने डरका कारण धोबिनीबाट सरुवा गराई पर्टेवा सुगौली गाउँपालिका पुगेका थिए । 

अख्तियारको कारबाहीबाट कर्मचारी त्रसित भएपछि गाउँपालिकाको कार्यशैलीमा सुधार होला भन्ने आसा स्थानीयले गरेका थिए । ‘तर, गाउँपालिका कार्यालयको रवैयामा बदलाव आएन,’ गाउँसभाका एक सदस्यले भने । उनका अनुसार कर्मचारीले गत आर्थिक मसान्तको हिसाबकिताब अहिलेसम्म बुझाएका छैनन् ।

 गाउँपालिका प्रमुख कार्यकारी अधिकृत राजु साहले पनि गत आवको आर्थिक कारोबार फस्र्योट हुन नसकेको जानकारी दिए । गाउँपालिका कर्मचारीहरूले गत आवमा विभिन्न शीर्षकबापत कराडौं रकम बुझेका छन् । ‘कर्मचारीलाई हरहिसाब बुझाउन बारम्बार ताकेता भइरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत साहले भने, ‘कर्मचारीहरू भने कार्यालयको सम्पर्कमै आउँदैनन् ।’ 

कर्मचारी अरविन्द सिंहले हालै आफनो नाममा रहेको ८ लाख रुपैया बेरुजुमध्ये दुई लाखमात्र बुझाएको निमित्त कार्यकारी अधिकृत शिवपुजन साहले बताए । बाँकी रकम बुझाउन भन्दा उनी सम्पर्कमै आउन छाडेका छन् । अधिकृत साहका अनुसार गाउँपालिकाको कृषि शाखा प्रमुख राजेश्वर कुशवाहाका नाममा २ करोड रुपैया बेरुजु छ । 

कुशवाहाले आफनो नाममा रकम निकाली दुई करोड रुपैयाँबराबरको कृषि सामग्री टेन्डर नै नगरी पोखरियास्थित आफ्ना भाइको पसलबाट खरिद गरेकाले रकम फस्र्याेट हुन सकेको छैन । नियमविपरीत सामान खरीद गरी नक्कली बिलभर्पाई पेस गरेपछि महालेखापरीक्षकको टोलीले बेरुजु ठहर गरेको हो । 

यसैगरी विभिन्न विषयलाई लिएर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिबीच पनि विवाद चर्किएको छ । आपसी विवादका कारण विकास निर्माणका कार्य हुन नसकेको स्थानीय नेता रामचन्द्र प्रसाद साहले बताए । चालू आर्थिक वर्षको दोस्रो किस्ताको रकम सवारीसाधन खरिदमा सिध्याइएको छ ।

त्यतिमात्र होइन, अख्तियारका कारबाहीपछि निलम्बनमा परेका दुई कर्मचारी र अर्का एक कर्मचारी अरविन्द सिंहले गाउँपालिकाको तीनवटा मोटरसाइकल अहिलेसम्म फिर्ता गरेका छैनन् । गाउँपालिकामा भइरहेको भ्रष्ट्राचार अन्त्य गर्न गाउँलेहरूलाई सक्रिय हुनुपर्ने स्थानीय अगुवाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्