तीन हजार रुपैयाँसहित साह र शर्मा पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित मालपोत कार्यालय सप्तरीमा कार्यरत कर्मचारी नायबसुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहलाई पक्राउ गरेको छ । 

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले मोही जग्गा बाँडफाँड भई स्रेस्ता कायम गराइदिने भनी सेवाग्राहीसँग तीन हजार घुसबापतको रकम लिइसकेको शर्मा र साहलाई पक्राउ गरेको हो । शर्मा र साह कार्यरत रहेको कार्यालय परिसरबाटै उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यसैगरी आयोगको कञ्चनपुर कार्यालयको टोलीले घुस रकमसहित कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयका सबइन्जिनियर हृदयराज बजगाईंलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिकाअन्तर्गत स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भई ठेक्काको अन्तिम रनिङ बिल फरफारक गराउने प्रयोजनका लागि घुस रकम माग गरिरहेका बेला बजगाईंलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले बजगाईंलाई सेवाग्राहीसँग घुसबापतको साठी हजार रकम लिइसकेको अवस्थामा उनी कार्यरत कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता दंगालले बताए ।

प्रतिक्रिया दिनुहोस्