सुरक्षित भएर इद मनाउन प्रदेश प्रमुखको अपिल



कर्णाली : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गरेका छन ।

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन सजग गराए ।

शुभकामना सन्देशमा भनिएको छ, “बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।” उनले इदले सबैमा भ्रातृत्व, शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

सङ्क्रमितको सङ्ख्या ११ पुग्यो

एक साताअघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दैलेखका आठ र सुर्खेतका तीन गरी ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अघिल्लो सोमबार पश्चिम दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि हुने सबै दैलेखका हुन् ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा अन्तिम परीक्षण गरिएका दैलेखको नारायण नगरपालिकाका १५ का १८ वर्षीय किशोर, डुङ्गेश्वर गाउँपालिकाका १९ का २७ वर्षीय पुरुष र २५ वर्षीया महिला तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको अन्तिम परीक्षणमा गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि शनिबार सुर्खेतको बराहताल गाउँपालिकाका दुई तथा चौकुने गाउँपालिकाका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमितमध्ये चारजना प्रदेश अस्पताल सुर्खेतमा र बाँकीको दैलेख अस्पतालअन्तर्गत सरस्वती माविमा सञ्चालित आइसोलेशन कक्षमा उपचार भइरहेको छ । भारत सरकारले रेल सेवा सञ्चालनमा ल्याएसँगै दैनिक सयौँको सङ्ख्यामा कर्णालीवासी घर फर्किरहेका छन् । जसले गर्दा उनीहरुसँगै कोरोना सङ्क्रमण भित्रिने खतरा बढेको छ । कर्णालीमा पहिचान भएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्