हत्या आरोपित सातजनाविरुद्ध उजुरी दर्ता



सप्तरी : सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता, ४० वर्षीय उमेश महतो, ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवविरुद्ध आज उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो ।

बाटो मिचेर घर बनाएको विषयमा झडप हुँदा टाउको फुटेर गम्भीर घाइते भएका सुकदेवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार राति १२ः०० बजे मृत्यु भएको थियो । आवतजावतमा कठिनाइ हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सुखदेवको टाउकामा काठको चौखटले प्रहार गरेको पीडितका नाति अजयकुमार मण्डलले जानकारी दिए ।

सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै दुवै परिवारले एकअर्कालाई आरोप लगाउँदै विवाद गरेका थिए । निलमदेवी मेहताले नयाँ निर्माण गर्न लागेको घरले बाटो मिचेको भन्दै अवरोध गर्न गएका सुकदेवलाई मेहता परिवारले पहिले आफूले मिचेको घर हटाउन भनेपछि विवाद बढेको थियो । सुकदेवको परिवारका सदस्यले बाटो मिचेर घर बनाएको विषयमा वडा कार्यालय र प्रहरीसमक्ष एक साता अगाडि नै उजुरी गरेको बताइएको छ ।

डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले मौखिक जानकारी आएको बताउँदै दुवै पक्षबीच आपसमा सहमति नभएपछि आवश्यक कारवाही र शान्ति सुरक्षाका लागि उजुरी गर्न प्रहरीसमक्ष पठाएको बताए । प्रहरी बेस क्याम्प पत्थरगाढाले गाउँमै छलफल गरेर टुङ्गो लगाउन भनेको थियो ।

गाउँमा छलफलको वातावरण नबनेपछि मेहताले घर बनाउन थालेका थिए । विवादको विषय टुङ्गो लागेपछि मात्र घर बनाउनुपर्ने मण्डल परिवारको माग थियो भने आफ्ना मिस्त्री, मजदुरलाई काम गर्न नदिएर अनाहकमा खर्च बढिरहेकाले घर बनाउन पाउनुपर्ने मेहता परिवारको जोड थियो ।

मण्डलको मृत्युको खबर फैलिएपछि आरोपित फरार छन् । आरोपितको खोजीकार्य भइरहे पनि हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले शव परीक्षण हुन नसक्ने जनाएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको शवको आज परीक्षण हुने परिवारका सदस्यले जानकारी दिएका छन् । कुटपिटबाट दुवै पक्षका दुई÷दुईजना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्