छाउपडी अन्त्यका लागि कानून कार्यान्वयनमा जोड



काठमाडाैं : छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिअन्तर्गतको छाउपडी कुप्रथासम्बन्धी स्थलगत अध्ययन गर्न गठित उपसमितिले आइतबार आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत गर्दै छाउपडी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला निकायहरुको सहभागितामा जनचेतनामूलक कार्यक्रम र छाउगोठ भत्काउने तथा हटाउने कार्यक्रम सँगसँगै अगाडि बढाउनुपर्ने सुझाव दिएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकमा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘अझै पनि बाजुरा लगायतका जिल्लाका ग्रामीण क्षेत्रमा धामीझाँक्रीमाथि ठूलो विश्वास छ, त्यसैले छाउपडी लगायतका कुसंस्कारविरुद्ध मानसिक चेतना दिने विभिन्न सडक नाटक लगायतका कार्यक्रम सञ्चालन गरी छाउपडी लगायतका कुप्रथा अन्त्य गर्ने प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

समितिका सदस्य गणेशसिंह ठगुन्नाको संयोजकत्वमा गठित सात सदस्यीय स्थलगत अध्ययन उपसमितिले यही माघ १६ देखि २१ गतेसम्म अध्ययन गरेको थियो । समितिले आवश्यक संशोधनसहित प्रतिवेदन पारित गरेको छ ।

 समितिले समितिको कार्यक्षेत्र महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्याका बारेमा छलफल गर्न सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्