नेपालमा कोरोनाका कारण चौथो व्यक्तिको मृत्यु



वीरगन्ज : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)का कारण थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रमममा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको जेठ ४ गते मृत्यु भएको थियो । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनी कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्ति हुन् ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत गरिसकिएका वृद्धको पीसीआर (स्वाब) रिपोर्ट पोजेटिभ आएको छ ।

बारा जिल्ला करैयामाइ गाउँपालिका ७ घर भएका वृद्धको पीसीआर रिपोर्ट नआउँदै कलेजले शव परिवारको जिम्मा लगाएर पठाइ दिएपछि आफन्तले शवको धार्मिक संस्कृति अनुसार अन्तिम दाहसंस्कार गरिसकेका छन् ।

मृतक वृद्धको पीसीआर रिपोर्ट आउनुभन्दा पहिले नै शव दाहसंस्कार भइसकेका कारण यतिबेला स्थानीय प्रशासन र चिकित्सक तनावमा परेका छन् । नारायणी अस्पतालको प्रयोशगालाबाट रिकन्फमरेसनका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट सोमबार पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए ।

वीरगञ्जमा मृत्यु भएर अन्त्यष्टि गरिसकेका वृद्धमा कोरोना पुष्टि

दम र निमोनियाबाट ग्रसित वृद्धालाई मेडिकल कलेजको आईसीयूमा जेठ २ गते दिउँसो भर्ना गरिएको थियो । आईसीयूमा राख्नुअघि कोरोनाको आशंकामा उनको स्वाब पीसीआर परीक्षणका लागि मेडिकल कलेजले नै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

तर, स्वाब परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राती वृद्धको मृत्यु भएको थियो । नारायणीको प्रयोगशालमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको भन्दै कन्फरमेसनका लागि नारायणीले उक्त स्वाब जेठ ७ गते काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाएको थियो ।

मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भइ अन्त्येष्टि समेत भइसकेका वृद्धको रिपोर्ट पोजेटिभ आएपछि मेडिकल कलेजलाइ सिल गर्ने तयारी भइरहेको भएको छ ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले रिपोर्ट पोजेटिभ आएको खबर पाएलगत्तै मेडिकल कलेजमा बाहिरबाट मानिसलाई छिर्न नदिन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको बताइन् ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एकजना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्