मुख्यमन्त्री रनिङ्ग शिल्डको उपाधि रुकुम र कालिकोटलाई



सुर्खेत : सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरीय मुख्यमन्त्री रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको उपाधि रूकुम पश्चिम र कालिकोटले हात पारेका छन् । खुला महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनल खेलमा रूकुम पश्चिम र कालिकोट विजयी भएका हुन् । 

पुरुषतर्फको खेलमा सल्यानलाई तीन–शून्यको सोझो सेटमा हराउँदै रूकुम पश्चिमले उपाधि हात पारेको हो भने महिलातर्फको उपाधि कालिकोटले पनि तीन–शून्यको सोझो सेटमा रूकुम पश्चिमलाई सहज रूपमा हराउँदै जित निकालेको हो । प्रतियोगिता सम्पन्न भएपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री, प्रकाश ज्वाला, भौतिक योजना मन्त्री, आन्तरिक मामिला मन्त्री, सामाजिक विकास मन्त्रीबाट पुरस्कार वितरण गरिएको छ । 

प्रतियोगितामा पुरुषतर्फ सुर्खेत र महिलातर्फ दैलेखले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पुरुषतर्फ रूकुम पश्चिमका डाइमण्ड खड्का र महिलातर्फ कालिकोटकी पुष्पा शाही भएकी छिन् । उनीहरूलाई जनही पाँच हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । उपाधि हात पार्ने दुवै समूहले एक÷एक लाख नगद, प्रमाणपत्र र रनिङ्ग शिल्ड प्राप्त गरेको आयोजक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै, द्वितीय हुने समूहले नगद ७५ हजार र तृतीय हुनेले नगद ५० हजारसहित मेडल प्राप्त गरेको छ । यही फागुन १ गतदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका १० वटा जिल्लाका महिला र पुरुषका एक÷एक गरी जम्मा २० वटा समूहको सहभागिता रहेको थियो । 

यस्तै शनिबार भएको भएको खेलमा पुरुषतर्फ सल्यानले दैलेखलाई र रूकुमले सुर्खेतलाई पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेका थिए । समूह चरणको पहिलो खेलमा रूकुमलाई हारको स्वाद चखाएको सल्यान पुनः जित हात पार्दै उपाधिका लागि फाइनलमा पुगेको थियो । महितर्फ शनिबार महिलातर्फको कालिकोटले सुर्खेतलाई र रूकुमले दैलेखलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । ५० लाख रुपैयाँभन्दा बढी खर्चिएको प्रतियोगितामा आगामी वर्षमा अरू खेललाई पनि समावेश गरिँदै लैजाने प्रदेश सरकारले जानकारी दिएको छ । खेल क्षेत्रमा सरकारी लगानी नभएको गुनासो आइरहेको हुँदा प्रदेश सरकारले खेल प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताए ।  

प्रतिक्रिया दिनुहोस्