धनुषाका सबै क्रसर उद्योग बन्द गर्ने जिससको निर्णय



जनकपुरधाम : धनुषामा बालुवा, ढुंगा र गिट्टीको अवैध ढंगले उत्खनन तथा निकासी गर्ने क्रसर उद्योग बन्द गराउने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति धनुषाको आइतबार बसेको बैठकले जिल्लामा अवैध रूपमा सञ्चालित क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको छ ।

केन्द्रीय परिपत्रअनुसार सो निर्णय गरिएको हो । समितिले आइतबारै एक विज्ञप्ति जारी गरी जिल्लाभित्र मापदण्डविपरीत सञ्चालित क्रसर र प्रशोधन उद्योगलाई बन्द गराउन सम्बन्धित नगरपालिका, गाउँपालिका, उत्खनन, संकलन तथा निकासी गर्नेगराउने कार्यमा संलग्न हुनेलाई निर्देशन दिएको छ ।

समिति उपप्रमुखको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेकाले हाललाई जिल्लाभित्रका सम्पूर्ण क्रसर र प्रशोधन उद्योग बन्द गर्न निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मापदण्ड पुगेका उद्योगका हकमा पुनः समितिले अर्को निर्णय गर्र्नेे जनाइएको छ । विज्ञप्तिमा जिल्लामा सञ्चालित ठूला तथा साना भौतिक पूर्वाधार निर्माण तथा व्यक्तिगत प्रयोजनका लागि समेत नदीजन्य पदार्थको सहज आपूर्तिका लागि कानूनसम्मत व्यवस्था गरिने जानकारी दिइएको छ । 

द नेपालटपसँग कुरा गर्दै अनुगमन समिति संयोजक एवं जिसस उपप्रमुख दीपक झाले निर्णय कार्यान्वयनका लागि समितिसँग आबद्ध भएकालाई आइतबार नै पत्र पठाइसकिएको बताए । उनले सोमबारबाट स्थानीय तह, क्रसर उद्योग, प्रशोधन उद्योग, संकलक तथा निकासीकर्तालाई पत्र पठाइने जानकारी दिए । 

निर्णय कार्यान्वयन नभएको खण्डमा स्थानीय प्रहरी प्रशासनको सहयोगमा उद्योगस्थलमै गई बन्द गराउने झाले बताए ।

 समितिको तथ्यांकअनुसार जिल्लामा ९ वटा क्रसर दर्ता भई सञ्चालनमा छन् । तीमध्ये एउटाको मात्र नवीकरण भएको छ । तर, जिल्लाभित्र दर्जनौं क्रसर उद्योग र प्रशोधन उद्योग सञ्चालनमा छन् । प्रशोधन उद्योगको सही तथ्यांक अहिलेसम्म समितिसँग छैन । 

यता प्राकृतिक स्रोत संरक्षणकर्मीले भने जिससको निर्णय साहसिक र स्वागतयोग्य भएको टिप्पणी गरे । तर, कार्यान्वयनमा इमान्दारी नअपनाइए निर्णयको अर्थ नहुने उनीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्