गण्डकीमा दुई हजारको पीसीआर जाँच गराउँदा दुई जनामा कोरोना ‘पोजिटिभ’



कास्की : गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पीसीआर जाँच भएको छ।

ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुईजनाको पोजेटिभ नतिजा आएपनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए।

नवलपुरका दुई जनाको भरतपुरमा र लमजुङका एक जनाको काठमाडौंमा सङ्क्रमण देखिएको हो। दुई जना भरतपुर अस्पताल र एक जना टेकु अस्पताल काठमाडौमा उपचार भइरहेको जनाइएको छ।

त्यसैगरी आरडिटी जाँच आठ हजार २१८ जनाको गरिएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले जटिल अवस्थाका बिरामीको व्यवस्थापनसम्बन्धी तालिमसमेत सम्पन्न गरेको छ।

एनस्थेसियोलोजिष्ट डा।हरि पौडलले उक्त तालिमको सहजीकरण गरेका थिए। तालिममा स्याङ्जा, गोर्खा, नवपुर, तनहुँ, लमजुङ अस्पतालका ३२ जना चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थिति रहेको उनले जानकारी दिए।

उनका अनुसार कोरोनासँगै प्रदेशमा अन्य पाँच प्रकारका रोगसमेत देखिन थालेपछि सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको छ। गोर्खा र कास्कीमा मलेरिया पोजेटिभ, गोर्खामा नै दादुरा तथा म्याग्दीमा स्क्रबटाइफस देखिएको छ। डेङ्गु म्याग्दी, कास्की र स्याङ्जामा जिल्लामा देखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्