काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
सोमबार प्रधानमन्त्री ओली कोरोना भाइरसको महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीतिबारे जानकारी गराउन सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।
उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।
कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्रीको सम्बोधनअघि आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक राखिएको छ । बैठक नियमित एजेण्डाहरुमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।