मृत्यु भएपछि मात्र कोरोना रिपोर्ट पोजेटिभ ! यस्ता छन् पछिल्ला घटना क्रम



फोटो फाइल

वीरगञ्ज : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)ले विकराल रुप लिँदै गइरहेको छ । यसबाट कसरी मानव जातिको रक्षा गर्ने भन्ने गम्भीर प्रश्न उठन थालेको छ ।

नेपालमा स्वास्थ्य उपचार, क्वारेन्टाइन, आइसोलेसन, आईसीयू आदिको व्यवस्था कमजोर हुँदा नेपालमा हालसम्म चार जना मानिसले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् ।

यसको पछिल्लो उदारहण हो वीरगञ्जको नेशनल मेडिकल कलेजमा ७० वर्षीय वृद्धको मृत्यु भएको ८ दिनपछि कोरोना पुष्टि हुनु ।

नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते अस्पताल भर्ना भएका बाराका ७० वर्षीय वृद्धको जेठ ४ गते मृत्यु भएर अन्त्यष्टि गरियो । तर, अन्त्यष्टि गरेको ८ दिनपछि आज (सोमबार) उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

अस्पतालले ४ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाएपनि केन्द्रीय प्रयोगशाला काठमाडौंले ८ दिनपछि ती वृद्धमा कोरोना भएको पुष्टि गर्यो । यसअघि कोरोनाका कारण ज्यान गुमाउने तीन जनामा जस्तै उनको मृत्युमा पनि लापरबाही भएको देखिएको छ ।

यसअघिका घटना र आजको घटनामा पनि अस्पतालको लापरबाही देखिएको छ ।

त्यसोत जेठ ३ गते सिन्धुपालचोककी २९ वर्षीय सुत्केरीको निधन भएको थियो । कोरोना कै कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो व्यक्त थिइन् । वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएर २५ गते घर फर्किएकी ती सुत्केरीमा ४–५ दिनपछि श्वासप्रश्वासमा समस्या देखियो । स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याएपछि उनको मृत्यु भयो ।

र मृत्यु भएपछि मात्रै थाहा भयो उनलाई कोरोना संक्रमण थियो भन्ने । धेरैको आशंका छ उनलाई शिक्षण अस्पताल मै वा स्थानीय स्तरमै लक्षण बिहिन कोरोना संक्रमण भएको थियो ।

तर, कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने विरामीको पीसीआर परीक्षण गरेन । विज्ञहरुको अनुसार पीसीआर परीक्षण गरेको भए उनलाई प्रसुती गराएर आईसियूमा राख्ने अवसर हुने थियो । तर, त्यस्तो हुन सकेन र उनको ज्यान गयो ।

त्यस्तै अर्को घटना हो–बाँकेको । जेठ ४ गते बाँकेको एक २५ वर्षीय युवकको कोरोनाको कारण ज्यान गयो । बाँकेको नरैनापुर गाँउपालिकाको क्वारेन्टाइनमा ज्यान गुमाएका युवकको पनि मृत्युपछि कोरोना संक्रमण रिपोर्ट आएको थियो । गत आइतबार बिहान ६ बजेर ४० मिनेट ज्यान गुमाउनु एक दिन अघि उनलाई ज्वरो आउने, पखला लाग्ने र बान्ता हुने समस्या देखिएको थियो ।

तर, उनलाई बेलैमा अस्पताल लैजान सकिएन । एम्बुलेन्स नै उनका लागि उपलब्ध हुन सकेन । दुःखद परिणाम उपचार नै नपाई क्वारेन्टाइन मै उनले ज्यान गुमाउनु पर्यो । बेलैमा उनलाई अस्पताल पुर्याउन सकेको भने सायद उनी बाच्न सक्थे कि ? त्यो विज्ञहरुले पनि स्वीकार गरेका छन् ।

यसैगरी अर्को घटना हो, गल्मीको । जेठ ८ गते रुपन्देहीको क्रिमसन अस्पतालमा गुल्मीको पुरकोटदहका ४२ वर्षीय शिक्षको मृत्यु भयो । जन्डिस लगायतकका विभिन्न समस्या देखिएका ती शिक्षकमा कोरोना पनि पुष्टि भयो । तर, परिवारको गुनासो छ, उपचार नपाएरै उनको ज्यान गयो ।

जेठ ५ गते कोरोना संक्रमणको रिपोर्ट आएपछि अस्पतालले उपचारनै नगरेको परिवारको दाबी छ । अस्पतालको लापरबाहीले विरामीको ज्यान गएको भन्दै मृतक श्रीमती, छोरा र भाईले राष्ट्रिय मानव अधिकार आयोग र सरकारसँग छानबिनका लागि गुहार मागेका छन् ।

कोरोना संक्रमण रोक्न भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको छ । सरकारले लकडाउन लागू गरेको अवधिमा भएका घटनाले कहिन कहि अस्पताल र क्वारेन्टाइनमा गम्भीर समस्या छ भन्ने देखाउँछ ।

उनको श्रीमतीको दाबी छ कोरोनाका आशंका गरिएका श्रीमानको अरु समस्याको उपचार नपाएर ज्यान गयो ।

प्रतिक्रिया दिनुहोस्