शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला



काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड-१९ को परीक्षण आजदेखि शुरु गरिएको छ ।

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उदघाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड-१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा खेम कार्कीले कोभिड-१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।

योसँगै अहिलेसम्म कोभिड-१९ परीक्षण गर्नका लागि २० वटा पिसिआर प्रयोगशाला सञ्चालनमा रहेका छन् । काठमाडौं पत्यकामा भने पाँच वटा पिसिआर ल्याब सञ्चालन भएका छन् । त्रिविमा रहेको बाइयोटेक्नोलोजी विभाग रहेको उक्त प्रयोगशाला अस्पतालले सञ्चालन गरेको हो ।

मन्त्रालयका विज्ञ सल्लाहाकार डा कार्कीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई, वीर अस्पतालमा एक, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा एक र शिक्षण अस्पतालमा एक जरी पाँच ठाउँमा पिसिआर सञ्चालन गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए । परीक्षण गरिएको छदेखि आठ घण्टामा रिपोर्ट आउनेछ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा रुना झाले परीक्षण गराउनेको संख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित संक्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताए ।

उनले आफूले प्रयोगशाला संचालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताए । अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्