प्रदेश सरकारभन्दा शक्तिशाली सिडियो अस्वीकार्य : सोनल



वीरगन्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सञ्चारकर्मीमाथि संघीय सरकारले अंकुश लगाउने काम गरिरहेको आरोप लगाएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आन्दोलन गरेका सञ्चारकर्मी तथा सञ्चार संस्थाविरुद्ध केन्द्रीय सरकारले एकपछि अर्को अंकुश लगाउने काम गरेको बताए ।

पर्साको पोखरीयामा आइतबार मध्यप्रदेश दैनिक नामक पत्रिकाको विमोचन गर्दै मन्त्री सोनलले आन्दोलनमा सक्रिय रहेका पत्रकार, शिक्षक, चिकित्सक, वकिल, इन्जिनियरलगायतलाई पनि सरकारले एकपछि अर्को अंकुश लगाउने काम गरेको बताए । नानाथरीका बन्देज लगाएर पत्रकारकासामु चुनौती थप्नुको सट्टा समस्या समाधानतर्फ अग्रसर हुन उनले संघीय सरकार सुझाए ।

 उनले केन्द्रीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारभन्दा शक्तिाशाली बनाउने प्रयास गरेको भन्दै यस्तो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले संविधानतः प्रदेश सरकारले अधिकार प्रयोग गर्ने हाँक पनि दिए । 

मन्त्री सोनलले संघीय सरकारले संघीयता धरापमा पार्न यी सबै हतकण्डा अपनाइरहेको आरोप लगाए । देशमा सबैभन्दा बढी राजस्व संकलन गर्ने पर्सा जिल्ला रहेको उल्लेख गर्दै उनले पर्सा विकासमा सरकारले उदासीनता देखाएको औंल्याए । ‘यसको ज्वलन्त उदाहरण पर्साको ग्रामीण सडकलाई लिन सकिन्छ । पर्साको भौतिक संरचना शून्य छ र प्रदेश सरकारले त्यही शून्य भौतिक संरचनाबाट काम सुरु गर्नेछ,’ उनले भने । 

पोखरियालाई स्याटलाइट सहर बनाउने जानकारी दिँदै मन्त्री सोनलले एक अर्बको लागतमा स्याटलाइट सहर निर्माणका लागि सर्भे सुरु भइसकेको उनले बताए । उनले भौतिक विकासका साथै सामाजिक, सांस्कृतिक विकासमा पनि प्रदेश सरकारको ध्यान रहेको र यसका लागि पत्रकारिताका माध्यमबाट पत्रकारले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए । 

प्रदेश सरकारले कृषकका लागि पञ्चवर्षीय योजना ल्याएको दाबी गर्दै मन्त्री सोनलले पाँच वर्षको अवधिमा सबै किसानको खेतमा सिँचाइको व्यवस्था गरिने बताए । 

    

प्रतिक्रिया दिनुहोस्