नेकपामा एकता : आज सचिवालय बैठक



काठमाडौं: पार्टी एकताको काम टुंग्याउन नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफंैले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउन लागेका हुन् । सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र दाहालले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गरेका थिए । उनीहरूले आइतबारसमेत पार्टीका केही नेतालाई बालुवाटार बोलाई अनौपचारिक छलफल गरेका थिए । पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार छलफल गरेका थिए ।

दुई अध्यक्षले माघ २७ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल गरेका थिए । आइतबार पनि दुई अध्यक्ष छलफलमा बसेका थिए । छलफलपछि सोमबार सचिवालय बैठक बोलाइएको हो । तर सचिवालयका कतिपय नेताले भने स्थायी समिति बैठकले बनाएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि पहिले छलफल भएपछि मात्र अन्य प्रक्रियाका विषयमा निष्कर्षमा पुगिने बताए ।

‘कार्यदलले जे रिपोर्ट दिएको छ, त्यो पहिले सचिवालयमा प्रस्तुत हुन्छ । त्यसपछि सचिवालयले केके निष्कर्ष दिन्छ, त्यही आधारमा अघि बढ्छ’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयले अध्यक्षद्वयलाई गृहकार्य गर्न भन्छ कि कार्यदललाई नै फेरि केही समय काम गर्न दिने भन्छ, त्यो छलफलपछि मात्र थाहा हुन्छ ।’ नेकपाले केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च), ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ । त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन ।

प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी छ । ‘एकतासँग सम्बन्धित सबै विषयमा अब बस्ने सचिवालय बैठकमा छलफल हुन्छ’, एक सचिवालय सदस्यले भने, ‘सचिवालयमा अध्यक्षद्वयले प्रस्ताव कसरी ल्याउनुहुन्छ, त्यहीअनुसार नै सबै विषयमा छलफल हुन्छ ।’

विद्यार्थीको डेलिगेसन

नेकपाका दुवै विद्यार्थी संगठनले संगठन एकता र स्ववियु निर्वाचन अनिश्चित बनेको भन्दै पार्टी नेतालाई ध्यानाकर्षण गराउन थालेका छन् । अखिल र अखिल क्रान्तिकारीका पदाधिकारीले आइतबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटी स्ववियु निर्वाचन र संगठन एकताका विषयमा ध्यानाकर्षण गराएका थिए । अखिल अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यष रन्जित तामाङ, उपाध्यक्षहरू सुरेन्द्र बस्नेत, विजय भट्टराई, महासचिव उत्तम अधिकारीलगायत नेताले संगठन एकतामा भइरहेको विलम्ब र स्ववियु चुनावका विषयमा रिपोर्टिङ गरेका अन्नपुर्णमा खवर छ । 

नवीनाले भने आफू विद्यार्थी मोर्चा छोड्न चाहेको तर अन्य मोर्चाको जिम्मेवारी दिनुपर्ने बताइन् । प्रधानमन्त्री र शिक्षामन्त्रीले उपकुलपतिलाई निर्देशन नदिएका कारण स्ववियु चुनाव हुने वातावरण बन्न नसकेको बस्नेतले बताए । विद्यार्थी संगठनको एकता गरेर स्ववियुमा जाँदा सन्देश राम्रो जाने गौतमको भनाइ छ । विद्यार्थी नेताहरूसँग महासचिव पौडेलले भने एकतालाई कतिपय मान्छेहरूले पचाउन नसकिरहेको धारणा राखे । स्ववियु चुनावका विषयमा पार्टी प्रदेश कमिटीहरूले सर्कुलरसमेत गरिसकेको र प्रधानमन्त्रीलाई पनि यस विषयमा रिपोर्टिङ गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्