‘विश्वासघातमा सरकारको विशिष्ट श्रेणी’



काठमाडौं: प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ। आफ्नो एकवर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप आइतबार कांग्रेसले लगाएको हो। ‘सरकारसँग नागरिकको मूल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजारमूल्य र उप्रतिको भरोसा र विश्वासको हुन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेको सरकारको समीक्षामा भनिएको छ, ‘अनेक पक्षको अनेक विश्वासलाई विसर्जित गर्नमा त यो एक वर्षमा सरकारले विशिष्ट श्रेणीको अंक हासिल गरेको छ।’

घात–१

कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायमाथि सरकारले विश्वासघात गरेको आरोप लगाएको छ। सरकारलाई १३ वर्षकी बालिकाका दोषीलाई कठघरामा बचाएको समेत आरोप लगाइएको हो। ‘राज्य संयन्त्रको दुरुपयोग र बदनामी गरेर दोषीलाई जोगाउन सम्पूर्ण प्रयत्न गरियो’ समीक्षामा प्रश्न गरिएको छ, ‘निर्दोष केही युवालाई यातना दिएर, जबर्जस्त साविति बयान गराएर, नक्कली अपराधी खडा गर्नेतर्फ लाग्ने कर्मभन्दा ठूलो न्यायप्रतिको विश्वासको हत्या अर्को के हुन सक्छ ? ’

घात–२

सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गरेको आरोप कांग्रेसको छ। ‘सारा दुनियाँलाई साक्षी राखेर गरिएको सम्झौता केवल सम्झौता मात्रै थिएन, त्यो नेपाल देशका प्रधानमन्त्रीको उच्च ओहोदाको गरिमा र विश्वासको दस्ताबेज पनि थियो’ समीक्षामा भनिएको छ, ‘तर विश्वास शब्दलाई नै लज्जित तुल्याउने गरी विश्वासको त्यो उचाइ गल्र्याम्म ढल्यो।’

घात–३

बूढीगण्डकीमा पनि सरकारले विश्वासघात गरेको कांग्रेसको समीक्षा छ।‘नेपालको समृद्धि नेपालीकै लगानीबाट भनेर बृहत्तर ढंगले प्रेरित र परिचालित गर्न सकिने गरी ठूलो आकारको नमुना बन्ने सम्भावना विकसित भएको बूढीगण्डकी परियोजना त्यसरी सुम्पनु बितेको वर्षमा वर्तमान सरकारबाट सम्पादित सबैभन्दा ठूलो विश्वासघात त हो नै यो गम्भीर राष्ट्रघात पनि हो’, समीक्षामा छ।

घात–४

संविधान संशोधनमा सरकारले मधेसीमाथि विश्वासघात गरेको कांग्रेसको समीक्षा छ। मधेसकेन्द्रित दललाई विश्वास दिएर सरकारमा ल्याए पनि एक वर्ष पुगिसक्दा संशोधनमा बेवास्ता गरेको आरोप कांग्रेसको हो। समीक्षामा सोधिएको छ, ‘मधेस विद्रोहमा युवाले बगाएको रगत कम्युनिस्ट सरकारको सामान्य बहुमतको शिरमा के दुईतिहाइको मेहन्दी लगाउनका लागि थियो ? ’

घात–५

कांग्रेसले आफ्नो काममा सरकारले श्रेय लिएरसमेत विश्वासघात गरेको आरोप लगाएको छ। सामाजिक सुरक्षा कोष आफूले तयार पारेको र यो कामको श्रेय सरकारले मात्र लिएको प्रस्ट पारेको हो। ‘नेपाली श्रमिकको हितमा यो ऐतिहासिक उपलब्धि कांग्रेसको नेतृत्वमा रहेको सरकारले सम्पादन गरेको कर्म थियो’, सरकारको समीक्षामा भनिएको छ, ‘मंसिर ११ गते वर्तमान सरकारले तामझामसाथ भड्किलो ढंगले प्रचार गरेर कम्युनिस्टको कार्यक्रम कम्युनिस्टकै पालामा’ भएको भ्रम छर्ने प्रयत्न गर्‍यो।’

‘बयलगाडामाथि अर्थतन्त्र’

सरकारको एकवर्षे कार्यकालमा देशको अर्थतन्त्र बयलगाडामाथि चढेर अगाडि बढिरहेको कांग्रेसले समीक्षा गरेको छ। ‘सरकारको गति, मति, प्रवृत्ति र एक वर्षको दुब्लो शैली हेर्दा भन्नै पर्ने स्थिति आएको छ–समृद्धि मीठो नारा मात्रै होइन भने बयलगाडामा बसेर चढिन्न सगरमाथा’, समीक्षामा भनिएको छ, ‘बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यमा आइपुग्दा केवल २२.८७ प्रतिशत मात्रै छ।’विदेशी लगानी भित्रिने कम भएको, शोधनान्तर घाटा चरम चुलीमा उक्लिएको दाबी समीक्षामा गरिएको छ। अर्थतन्त्रको पल्स मानिने सेयर बजार यो सरकार आएपछि क्रमशः धराशयी हुँदै गएको समेत समीक्षामा उल्लेख गरिएको खवर अन्नपुर्णमा छ ।

‘स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो’ त्यहाँ भनिएको छ, ‘पछि १५२० मा रहेको नेप्से कम्युनिस्ट सरकार बनेपछि १३८०, ११२८ हुँदै यो सरकारले एक वर्ष पूरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झरेको छ।’

प्रतिक्रिया दिनुहोस्