कवितामार्फत ‘नाङ्गो छाती लिएर सिमानामा उभिन तयार छु’ भन्छन् दिनेश गौतम



काठमाडौं : केही दिन अघि सरकारले लिपुलेक, लिम्पियाधुरार कलापानी समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरिसकेको छ । नयाँ नक्सा सार्वजनिक भएपछि भारत र भारतीय मिडियाहरुले नेपाललाई बिभिन्न आरोपहरु लगाइरहेका छन् । यो समयमा नेपालका कलाकर्मीहरुले भारतको विरोधसँगै सरकारलाई समर्थन गर्दै मातृभूमि र देशसँग सम्बन्धित विभिन्न रचना सृजनाहरु गरिरहेका छन् ।

त्यस्तै गायक दिनेश गौतमले कविता मार्फत आफ्ना देशप्रतिको भाव व्यक्त गरेका छन् । दिनेश ’पैसा कसले बनायो’ भन्ने गीतबाट चर्चामा आएका गायक हुन् । उनलाई साहित्यको दुनियाँमा पुस्तक प्रसाद उपनामले चिनिन्छ । उनको म ईश्वर भएको भए, इमान बेचिदिन्छ मान्छे, हो यस्तै रहेछ माया, फर्केर आएन मायालु जस्ता थुप्रै गीतहरु चर्चित छन् । उनको मातृभूमि र देशप्रति समर्पित कविता यस्तो छ ।

देश
तयार छु उल्टाइ दिन
जङ्गे र बलभद्रको इतिहास
मुला काटेझैँ काटिदिन
दुश्मनको गर्धन
देखाइ दिउँ कि
यो वीरहरुको बिर्ता हो भनेर
र दिन तयार छु फेरि पनि
नेपाली हुनुको प्रमाण ।

हो मसँग पनि छ
नेपाली नागरिकता
पुरानो दौरा सुरुवाल
ढाका टोपी छ
पटुकीमा सिउरिएको छु सिरुपाते
मेरो छातीमा पनि छ
सिमानासँगै च्यापिएको
मेरो देशको चेप्टो नक्सा ।

भोकभोकै खाली पेट
खाली खुट्टा
नाङ्गो छाती लिएर
सिमानामा उभिन तयार छु
तयार छु मेरो झन्डालाई
मेरै रगतले पेन्टिङ गर्न
तर सरकार
खुकुरी उठाउन पनि
बल चाहिने रहेछ ।

तपाई नै भन्नुस
गिटी कुट्दा कुट्दा
दुब्लो भएको मेरो पाखुरी
हावा , घाम खाएर
जुन, तारा, चन्द्रमा खाएर
देश रागको
गीत गाएर मात्रै
कहिलेसम्म जोगाउन सक्छु
मेरो देश ।

पुस्तक प्रसाद

प्रतिक्रिया दिनुहोस्