वीरगञ्जको नारायणी अस्पतालबाट थप ४३ जना डिस्चार्ज, मेयर सरावगीद्वारा भब्य स्वागत



वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका रहेका मेसु डा.उपाध्यायले जानकारी दिए । डिस्चार्ज हुनेमा २ जना महिला पनि रहेका छन् ।

डिस्चार्ज हुने सबैलाई वीरगन्जका मेयर बिजय कुमार सरावगीसहित स्थानिय व्यक्तिले भब्य स्वागत गरेका थिए ।

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।

सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् ।

फोटो : नरेश सर्राफ

प्रतिक्रिया दिनुहोस्