खेर गयाे गृहमन्त्रीकाे वचन, छानबिन समितिले भेटेन खुर्सिद हत्याको अाधार



मोरङ : सुनसरी हरिनगर–२, भुटाहाका शिक्षक खुर्सिद आलम अन्सारीको हत्यामाथि छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोलीले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।

 

४ असोजमा खुर्सिदको हत्या भएपछि हत्या अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति गठन भएको थियो ।

१५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिइए पनि अझैसम्म समितिले प्रतिवेदन नबुझाएको हो । अहिले समितिलाई दिइएको समयसिमा सकिएर पनि ५ दिन बितिसकेको छ ।

 

छानबिन समितिका अधिकारीले भने फिल्डको काम सकेर प्रतिवेदन तयार पार्ने काम गरिरहेको स्पष्टिकरण दिएका छन् । तर, १५ दिन समय खर्चिएको छानबिन टोलीले हत्याको कारण भने पत्ता लगाउन नसकेको समितिले एक अधिकारीले बताए ।

 

खुर्सिद हत्या प्रकरणको छानबिनका क्रममा टोलीले आफन्त छरछिमेक, प्रहरीसहित स्थानीयबासीसँग बयान लिएको थियो ।

 

टोलीले प्रहरीको घटनापछि अभियुक्तको पक्राउमा आन्तरिक समन्वय अभाव पनि देखिएको जनाएको छ । छानबिन समितिका संयोजक किशोर दाहालले केही दिनभित्र छानविन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी गरिएको बताए ।

 

उनले प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने बताउँदै उनले अहिल्यै केही बोल्न नमिल्ने बताए । खुर्सिदको हत्या गरेर भारतीय हतियारधारीको समूह घुस्की नाका हुँदै सहजै भारत छिरेको थियो ।

प्रहरीको समन्वय अभावका कारण करिब ९ किलोमिटर दक्षिणमा पर्ने घुस्की बोर्डर पार गर्दै हतियारधारी भागेका थिए । अज्ञात समुहको गोली प्रहारबाट ज्यान गुमाएका खुर्सिदलाई सरकारले सहिद घोषणा गरेको छ भने उनको परीवारलाई १० लाख क्षतिपूर्ती पनि दिएको छ ।

 

असोज १४ गते खुर्सिदका आफन्तलाई भेट्न आएका गृहमन्त्री रामबहादुर थापा बादलले १० लाखको चेक र सहिद घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । त्यसवेला थापाले अपराधीलाई सात समुन्द्र पारीबाट भएपनि पक्राउ गरी ल्याउने वचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्