मेलम्ची सक्न नयाँ टेन्डर मागिँदै



काठमाडौं: मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । 

इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा छन् । ‘सिएमसीसँगको सम्झौता तोडिएपछि नयाँ टेन्डर खुलाउने तयारी भइरहेको छ,’ आयोजना स्रोतले भन्यो, ‘सिंगल टेन्डर गर्दा प्रक्रिया लामो हुन्छ । विशेष अवस्था भनेर कामको प्रकृतिअनुसारका एकभन्दा बढी टेन्डर आह्वान हुन्छ र प्रक्रियासमेत छोटो गर्न सकिन्छ ।’

सरकारले सिएमसीलाई सन् २०१३ मा तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी सात अर्ब ७२ करोडमा आयोजनाको जिम्मा दिएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरिएको थियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो । 

विभिन्न कारण देखाउँदै सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।  सिएमसीको आशाले निर्णय हुन सकेन सिएमसीसँगको ठेक्का तोडिएको दुई साता बित्न लाग्दासमेत आयोजनाको बाँकी काम कसरी अघि बढाउने भन्नेबारेमा निर्णय हुन सकेको छैन । ‘सिएमसीलाई काममा फर्काउन गरिएको पहल र पुनः काममा फर्कने आशाका कारण निर्णय अल्झिएको छ,’ आयोजनाका एक अधिकारीले भने, ‘उसका अनावश्यक सर्त मान्न सकिने अवस्था छैन र आर्थिक रूपमा टाट पल्टिएको कम्पनी काममा फर्केला भनेर भन्न सकिने अवस्था छैन । अब एक साताभित्र निर्णय भइसक्छ ।’ 

वर्षायामअघि नै सकिएला त काम ? 

-मेलम्ची आयोजनाको काम तीन महिनायता ठप्प छ । जसका कारण वर्षायामअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य पूरा हुने सम्भावना घट्दै गएको छ । तर, उपयुक्त निर्णय तुरुन्तै गरे वर्षाअघि पनि काम सकिने आयोजना प्रमुख सूर्यराज कँडेलको दाबी छ । 

-‘सरकारको निर्णय पर्खिरहेका छौँ । फास्ट ट्र्याकमा काम गर्न सकिने मोडालिटी टुंगो लगाएर निर्णय भयो र साइटमा बाधा आएनन् भने वर्षायामअघि काम सम्पन्न हुन्छ,’ उनले भने । आयोजनाको बाँकी काम गर्न करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान आयोजनाले गरेको खवर नयाँपत्रिकामा छ । 

-एक किलोमिटर सुरुङ ढलान गर्न र कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी रहेको आयोजना प्रमुख कँडेलले बताए । यस्तै, इन्टेक र हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम अधुरो अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्