एकीकरणको अन्तिम गृहकार्यमा ओली–प्रचण्ड



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम टुंगो लगाउन अन्तिम गृहकार्य थालेका छन् । एकीकरणमा धेरै ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना बढेपछि लगातार छलफलमा जुटेका उनीहरूले जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको सूचीसमेत तयार गरिसकेका छन् । 

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलसमेतको परामर्श लिएर शनिबार र आइतबार अध्यक्षद्वयले प्रदेश १, २ र ३ का सबै जिल्लाका मुख्य नेतृत्वको नाम तय गरेका छन् । एक नेताले बाँकी गृहकार्य सचिवालय बैठकमा हुने दाबी गरे । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालय बैठक डाकिएको छ । 

एकता सम्बन्धमा बनेको कार्यदलको प्रतिवेदनमा छलफल हुन बाँकी नै छ । सचिवालयमा पहिले छलफल गरेर प्रस्तावलाई अन्तिम रूप दिन दुई अध्यक्षले तयारी गरेको ती नेताको बताए । पूर्वएमाले र पूर्वमाओवादी समूहभित्र असन्तुलन नहोस् भनेर ओली र प्रचण्डले पहिल्यै सचिवालयमा छलफल गर्न चाहेको स्रोतले बतायो । 

प्रतिक्रिया दिनुहोस्