स्वास्थ्य सेवा सुधार गरिने



नेपालगञ्ज : प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बाँके नरैनापुरको क्वारेन्टिनलाई व्यवस्थित बनाउने र स्वास्थ्य सेवामा सुधार गर्ने बताएका छन ।

संवाद समूहले सोमबार गरेको ‘भर्चुअल’ बैठकमा मन्त्री बरालले नरैनापुरका नागरिकले अनुभूति हुने गरी स्वास्थ्य संस्था स्थापनाको कार्य अघि बढाइने प्रतिबद्धता जनाए । तीनै तहका सरकारबीच पर्याप्त समन्वय र सहकार्य नभइरहेको गुनासो आइरहेका बेला संवाद समूहको संयोजनमा स्थानीय सरकार, स्थानीय प्रशासन, जनप्रतिनिधि र प्रदेश सरकारको प्रतिनिधित्व हुने गरी अनलाइन संवाद बैठकको समन्वय गरिएको समूहका संयोजक शुक्रऋषि चौलागाईँले बताए ।

मन्त्री बरालले कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुनुसक्ने बताउँदै प्रदेश सरकारले नरैनापुरस्थित स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि सम्पूर्ण तयारी शुरु गरिसकिएको स्पष्ट पार्नुभयो । छलफलमा सहभागी बाँकेको सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा केसीले नरैनापुरलगायत क्षेत्रमा देखिएको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै तहका सकारकारको ध्यानाकर्षण गराइए पनि समयमा सुनुवाइ नभएको गुनासो गरे । उनले आइसोलेसनसहितको सामुदायिक अस्पताल सञ्चालन, क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य विज्ञसहितको टोली परिचालनको आवश्यता तत्काल पूरा गर्नुपर्ने माग राखे ।

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साह, सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले भाग लिएका थिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट सङ्क्रमित १४६ मध्ये ११३ जना नरैनापुर क्षेत्रका मात्र छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्