भक्तपुरमा ट्रिपरको ठक्करबाट प्रहरी नायब निरीक्षकको मृत्यु



भक्तपुर : भक्तपुरको मध्यपुर थिमी–४ नयाँ थिमीमा ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

दाङ स्थायी घर भएका ४५ वर्षीय प्रहरी नायब निरीक्षक घर्तीमगरलाई सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख४७०१ नम्बरको खाली ट्रिपरले ठक्कर दिएको हो ।

पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई घर्तीमगर महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए । ठक्करबाट गम्भीर घाइते भएका घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएकोमा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

सईलाई ठक्कर दिने ट्रिपरसँगै सोही दिशातर्फ आउँदै गरेको बा४ख ४३१८ नम्बरको मिनी ट्रिपर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सईलाई ठक्कर दिएर फरार भएका ट्रिपर चालक धादिङका राजेन्द्र प्याकुरेललाई कौशलटार र अर्को ट्रिपरका चालक भक्तपुर नगरपालिका–३ का राकेश सैंजूलाई सल्लाघारीबाट नियन्त्रणमा लिइएको डीएसपी कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्