क्वारेन्टिन भरिभराउ



डोटी : जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा भारतबाट आएका नागरिकले अहिले भरिभराउ भएका छन् । क्वारेन्टिनमा नागरिक भरिभराउ भए पनि सरकारी मापदण्डअनुसार निर्माण नहुँदा समस्या हुँदै आएको छ । यहाँका क्वारेन्टिनमा शुद्ध पानीदेखि बस्ने सुत्ने तथा खाना पकाउनसमेत समस्या भएको क्वारेन्टिनमा राखिएकाको गुनासो रहेको छ । जिल्लामा कोरोना भाइरस कोभिड–१९ सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले उल्लेख गरेअनुसार कुनै मापदण्ड कार्यान्वयन भएका छैनन् । स्कूलमा रहेका बेञ्च टेबल जम्मा गरेर एकै श्यया (बेड)मा चारदेखि पाँच जनासम्म सुत्ने बनाइएका छन् । त्यस्तै क्वारेन्टिनमा राखिएका खुलमखुलारूपमा घुमफिर गरिरहेका छन् ।

उनीहरुलाइ घरभित्रै राख्न नसकिएका कारण समस्या उत्पन्न हुँदै आएको र उनीहरु मनपरि घुमिरहेको दिपाल पिपल्लाका स्थानीय समिर विष्टले बताउनुभयो । उनले भने, “क्वारेनिटनमा सुरक्षा तथा उनीहरुलाई घरभित्रै नराखिएका कारण क्वारेन्टिनमा बसेका घर नदीमा जाने, बजार घुम्ने गरेका छन्, जसले गर्दा अरुलाई पनि समस्या हुने डर छ ।” दिपायल, रानागाउँ, मौवा, तिखा, गड्सेरा, विपीनगरलगायत क्षेत्रका विद्यालयमा निर्माण गरिएका क्वारेन्टिन बस्ती नजिक भएकाले पनि समस्या हुने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा बस्तीबाट टाढा हुनुपर्ने भनिएको छ तर जिल्ला सदरमुकाकै दिल्पेश्वर माविमा बस्तीभन्दा पाँच मिटर नजिकै घरहरु भएकाले कसैमा सङ्क्रमण भए अरुलाई पनि समस्या हुने भन्दै स्थानीयमा त्रास पैसा भएको दिपायलका स्थानीय गोविन्द जोशीले बताए । उनले भने, “वरिपरि बाक्लो बस्ती छ, त्यहीँनिर क्वारेन्टिन बनाइएको छ, क्वारेन्टिनमा राखिएका निवार्धरूपमा घुमिरहन्छन, कोही सङ्क्रमित भए त अरुलाई पनि सर्छ होला नि ।” उक्त विद्यालयको क्वारेन्टिनमा मात्रै ७२ जना राखिएको छ ।

यहाँका क्वारेन्टिनमा एकै कोठामा १० देखि १५ जना बस्ने गरेको स्थानीयवासीले जानकारी दिएका छन् । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था हुनुपर्ने भनिएको भए पनि कतिपय क्वारेन्टिनमा खानेपानी, विद्युत्, स्वास्थ्य, शुद्ध खानेपानीको व्यवास्थासमेत गरिएको छैन । खाना कसले पकाउने क्वारेन्टिन बस्नेबीच नै कहिलेकाहीँ आपसमा विवाद हुने गरेको जोरायल गाउँपालिका–६ का स्थानीय लोकेन्द्र छेडालले बताए ।

उनले भने, “खाना कस्ले पकाउने भन्ने विषयमा आपसमा विवाद हुन्छ, त्यो बेला सम्झाउने मान्छेसमेत हुँदैनन् ।” विद्यालयका चिसो कोठामा राखिएको र कुनै पनि सुविधा नभएको क्वारेन्टिनमा बस्नेले गुनासो गर्दै आएका छन् । सबै व्यक्तिलाई हुलका हुल क्वारेन्टिनमा राखिएका कारण त्यहाँ समाजिक दूरीको पनि कसैले ख्याल नगर्ने गरेको विपीनगर क्वारेन्टिनमा राखिएका पदम धामीले गुनासो गरे । उनले भने, “पशुजस्तै हुलका हुल राखिएको छ, कसले गर्ने सामाजिक दूरी कायम, भगवान् भरोसामा बसेका छौँ ।”

त्यस्तै यहाँका क्वारेन्टिनमा राखिएकाको स्वास्थ्य जाँचसमेत गरिएको छैन । क्वारेन्टिनमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी नआएको उनीहरुको गुनासो छ । यतिमात्र नभइ यहाँका गाउँमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा उपस्थिति नहुँदा स्थानीय तथा जनप्रतिनिधि आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । सुरक्षा व्यवस्थापन नहुँदा वडाध्यक्ष तथा सदस्यले क्वारेन्टिनमा रहेकालाई व्यवस्थान गर्न नसक्दा आफूलाई असुरक्षा महसुस गरिरहेको बताउँदै आएका छन् । त्यति मात्र नभइ नजिकै घर भएकाहरु भागेर घर जाने सम्भावना रहेको उनीहरुको भनाइ छ । भारतबाट आउनेको सीमा क्षेत्रमै आरडिटी तथा पिसीआर परीक्षण गर्नुपर्ने जिल्लावासीको माग छ ।

प्रतिक्रिया दिनुहोस्