मौलिक संस्कृति अतिक्रमणमा परेको गुनासो 



काठमाडौं : विदेशी चलचित्रका कारण नेपालका मौलिक भाषा, भेषभूषा तथा रहनसहन अतिक्रमणमा पर्दै गएको संस्कृतिविद्हरूले गुनासो गरेका छन् ।

संस्कृतिविद् गणेशराम लाछीले विदेशी चलचित्रका कारण अहिलेको पुस्ताले आफ्नो संस्कृति बिर्संदै भारतीय तथा पश्चिमा संस्कृतिमा रमाउँदै गइरहेको बताए । दीपावलीलाई दिवाली भन्न थालिएको उदाहरण दिंदै उनले भने, ‘दीपावलीमा घर अगाडि रंगोली बनाउनु अनिवार्य जस्तै भएको छ । हाम्रो संस्कृतिमा मण्डला बनाउने र पूजा गर्ने चलन छ ।’

कुनै पनि विवाह, पर्वमा महिलामा लेहेंगा तथा पुरुषमा मोदी कोटको लोकप्रियता बढ्दै गएर हाम्रो परम्परागत पोशाक लोप हुने अवस्थामा रहेको लाछीले गुनासो गरे । हामीलाई न्यु इयर, भ्यालेन्टाइन, क्रिसमस कहिले भन्ने सबै थाहा हुन्छ, तर नेपालको पर्व कुन दिनपर्छ थाहा हुँदैन । यो विडम्वना हो, उनले भने ।

उनले भने, ‘चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर यसले धेरै सन्देश दिने गर्छ । त्यसैले हाम्रो संस्कृति परम्परा रहेको चलचित्र निर्माण गरेको खण्डमा हाम्रो पुस्ताले धेरै कुरा थाहा पाउने छन् ।’

यस्तै, फेसन डिजाइनर आस्तिक शेरचनले पनि भारतीय चलचित्रबाट हाम्रो भेषभूषामा निकै प्रभाव परेको जानकारी दिए । उनले कुनै टेलिश्रृंखला वा चलचित्रमा नायक नायिकाको जस्तै लुगा सिलाउन धेरै आउने अनुभव सुनाउँदै कुनै नयाँ भारतीय चलचित्र आएपछि त्यसमा प्रयोग भएको लुगाको माग बढी हुने बताए ।

अझ विवाहअघि बेहुलीले मेहेन्दी लगाउने चलनले व्यापकता पाइरहेको बताउँदै मेहेन्दीका लागि भनेर पहेलो वा हरियो लुगा बढी सिलाउने गरिएको शेरचनको भनाइ छ ।

निर्देशक एवं कला विश्लेषक प्रकाश सायमीका अनुसार एउटा चलचित्रले केवल कन्टेन्ट मात्र होइन, त्यसको फेशन, स्टाइल, डायलग, संगीत सबै कुरा बेच्छ । विदेशी चलचित्रले डेढ वा दुई घण्टाको मनोरञ्जन मात्र बेच्दैन, त्यसले आफ्नो संस्कृति पनि हाम्रोसामु ल्याउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्