कोरोनाको लक्षण देखिएकी गर्भवती महिलाको होम आइसोलेसनमा मृत्यु



सप्तरीः अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको होम आइसोलेसनमा मृत्यु भएको छ ।

सोमबार राति धेरै ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया ती गर्भवती महिलालाई मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार १० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत जेठ ८ गते राजविरास्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।

स्वास्थ्य प्रमुख यादवका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए ।

२ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । उनी १८ साताकी गर्भवती थिइन् ।

यता कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर महतोका अनुसार कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएको र मृतकको स्वाब लिने तयारी भइरहेको छ ।

साथै मृतकको स्वाब संकलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्नुपर्ने महतोले बताएका छन् ।

शव व्यवस्थापन निर्देशिका अनुसार दाह संस्कार गर्न वा स्वाब परीक्षणको पीसीआर रिपोर्टको प्रतिक्षा गर्न घरपरिवारसँग सल्लाह गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्