आठ स्वर्णसहित भिम मावि विजेता



म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिकास्तरीय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देवीस्थानले हात पारेको छ । 

गाउँपालिका केन्द्र दरबाङमा आइतबार सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरी भिम माविले उपाधि हात पारेको हो ।  यसैगरी प्रतियोगितामा छ स्वर्ण हात पारेको केबि एकेडेमी बोर्डिङ स्कुल दरबाङ द्वितीय र चार स्वर्ण लिएको जनप्रिय मावि दरबाङ तृतीय स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा प्रथम हुन सफल भिम माविले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय केबि एकेडेमीले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र तथा तृतीय भएको जनप्रिय माविले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार प्रथम भिम माविले एथलेटिक्सतर्फ आठ, द्वितीय केबि एकेडेमी बोर्डिङले एथलेटिक्समा पाँच र छात्र भलिबलमा एक स्वर्ण तथा तृतीय जनप्रिय माविले छात्रछात्रा एथलेटिक्समा दुई र कबड्डीमा दुई गरी चार स्वर्ण प्राप्त गरेको थियो ।

प्रतियोगितामा विजेता, उपविजेता र सान्त्वना विद्यालयलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रतियोगिताले विद्यालय स्तरका विद्यार्थीको प्रतिभा पहिचान हुनुको साथै उनीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्न सफल भएको बताए । 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातवटै वडाका ११ विद्यालय सहभागी भएको थियो । तीमध्ये प्रतियोगितामा किसानी मावि चार, गौवम बस्ती मावि देवीस्थान चार, अमरज्योति मावि डाँडागाउँ दुई तथा ओखरबोट माविले एक स्वर्ण ल्याएको थियो ।

सिद्धार्थ मावि च्युरिबोट, राष्ट्रिय मावि रुम, दरबाङ ईङ्गलिस बोर्डिङ स्कुल दरबाङ र निस्कोट मावि निस्कोट भने सम्पन्न आठ खेलमा एउटा पनि स्वर्ण पदक जित्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्