सिरहामा थप पाँच जनामा कोरोना पुष्टि



सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म कोरानाबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या ६ पुगेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईका अनुसार भगवानपुर गाउँपालिका–४ स्थित बिसौलका ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर तमसुईयाको एक जना पुरुष गरी थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसबारे पुष्टि गरेको छैन ।

सङ्क्रमण पुष्टि भएकामध्ये भगवानपुर गाउँपालिकाका चारै जनालाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा राति नै ल्याइसकिएको छ । नवराजपुर गाउँपालिकाको भगवतीपुर तमसुईयाका सङ्क्रमितलाई राति गाउँपालिकाको सोनवर्षा क्वारेन्टाइनको छुट्टै कोठामा राखी मङ्गलबार धनगढीकै कारोना अस्पतालमा पु-याउने तयारी भइरहेको नवराजपुरका गाउँपालिका प्रमुख विश्वमोहन यादवले जानकारी दिए ।

उनीहरू सबै गत जेठ २ गते भारतबाट भित्रिएर सोझै आ–आफ्ना गाउँपालिकाको क्वारेन्टाइन शिविरमा प्रवेश गरेका थिए । क्वारेन्टाइनमा रहेकै अवस्थामा गत जेठ ५ गते उनीहरूको स्वाब सङ्कलन गरिएको थियो ।

भारतबाट भित्रिएपछि उनीहरु गाउँघर नपसी सोझै क्वारेन्टाइनमा प्रवेश गरेकोले अहिलेको अवस्थामा गाउँ सिल गर्ने अवस्था नआए पनि जिल्ला सुरक्षा समितिको बैठकबाट हुने छलफल बमोजिम यसबारे निर्णय आउने प्रजिअ गुरागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्