संविधान संशोधन विधेयक भोलि प्रतिनिधिसभा बैठकमा पेश हुने



काठमाडौं : बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।
नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव भोलि प्रतिनिधिसभा बैठकमा पेश हुने भएको हो ।

संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव बुधबारको कार्यसूचीमा राख्नका लागि अनुमति दिएका छन् ।

भोलिको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सदनले अनुमति दिएपछि उनले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गर्नेछिन् ।

गत शुक्रबार मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषदको निर्णयअनुसार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् । उक्त विधेयकमा नेपालको नक्सा अध्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्