चौरजहारी घटना छानबिन समिति गठन



काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

३ जनाको मृत्यु र ३ जना अझै बेपत्ता रहेको घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

मंगलबार राष्ट्रियसभामा घटनाबारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्न समिति बनाएको बताए । उनले छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने जानकारी दिएका छन् ।

बेपत्ता रहेका ३ जनाको खोजी गर्न गोताखोर पठाउने काम भइरहेको भन्दै उनले प्रेमिका भगाउन गएका नवराज विकसहित ३ जनाको शव फेला परेको जानकारी दिए । रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा शनिबार साँझ मल्ल थरकी प्रेमिकालाई भगाउन गएका भेरी नगरपालिका ४ जाजरकोटका नवराज बिक र उनका २ साथीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा टीकाराम सुनार र गणेश बुढा रहेका छन् । लोकेन्द्र सुनार, सञ्जु बिक र गोविन्द शाही अझै बेपत्ता छन् । शनिबार नवराज आफ्ना १८ जना साथीलाई लिएर प्रेमिका भगाउन जाँदा गाउँलेले लखेट्ने क्रममा केही भेरी नदीमा हामफालेका थिए भने १२ जना युवालाई नियन्त्रण लिएर राखेका थिए ।

पछि उनीहरुलाई प्रहरीले छुटाएको थियो । जाजरकोटका युवालाई सोती गाउँका मानिसले कुटपिट गर्दै लखेटेपछि ज्यान जोगाउन नदीमा हाम फाल्दा यो घटना भएको प्रहरीले जनाएको छ । नदीमा हाम फालेका एक जना भने प्रहरीको सम्पर्कमा आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्