मिलेर अघि बढ्न शीर्ष नेतालाई राष्ट्रपतिको सुझाव 



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षी राजनीतिक दलबीच उत्पन्न टकरावप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले दुवैबीच उत्पन्न दुरी कम गरेर अघि बढन सुझावसमेत दिएकी छिन् । 

शीतलनिवासमा आइतबार साँझ राष्ट्रपति भण्डारीले सत्तापक्ष दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतालाई बोलाएर छलफल गरेकी थिइन् । छलफलमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार उपस्थित थिए । 

‘जुन रुपमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद उत्पन्न भइरहेको छ, त्यसप्रति राष्ट्रपति चिन्तित देखिनुभयो’, कांग्रेस उपसभापति गच्छदारले भने–‘दुवै पक्ष मिलेर अघि बढ्दा जनता र मुलुकको हित हुने भावना राष्ट्रपतिको थियो, दुवै पक्ष आपसी सहमति, सहकार्य गरेर बढदा राम्रो हुने राष्ट्रपतिको सुझाव थियो ।’   

संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगको अध्यक्षमा प्रतिपक्षी नेताको उपस्थितिबिना नै सिफारिस गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच दुरी बढेको छ । आफ्नो अनुपस्थितिमा परिषद्ले निर्णय गरेपछि कांग्रेस सभापति देउवा सरकारको रवैयाप्रति असन्तुष्ट छन् । यस्तै राजदूत र अन्य राजनीतिक नियुक्तिप्रति कांग्रेसको असन्तुष्टि कायम छ । 

चिकित्सा विधेयक संसदबाट जबरजस्ती पारित हुनु, विभिन्न स्थानबाट नेविसंघका नेता तथा कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउनु जस्ता घटनाले कांग्रेसलाई सरकारविरुद्ध आक्रामक बनाएको छ । यसैबीच सरकार, राजनीतिक दलका नेता र स्वयम् राष्ट्रपतिप्रति सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्याप्त विरोधाभासपूर्ण विचारले राष्ट्रपतिलाई चिन्तित बनाएको छ । 

राष्ट्रपतिले दुई तिहाईको सरकार भए पनि पुनःनिर्माणसहित विकास निर्माण कार्यले उत्साहजनक प्रगति हासिल गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै विकास निर्माणमा सबै राजनीतिक दल सहकार्यका साथ अघि बढनुपर्ने सुझाव दिएका नेताहरुलाई दिएकी थिइन् । 

कांग्रेसभित्र निरन्तर रुपमा हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग उठ्दैगएकोमा राष्ट्रपतिले जिज्ञासा राखेकी थिइन् । राष्ट्रपतिबाट व्यक्त चिन्ता र चासोका विषयमा शीर्ष नेताहरुले आआफ्ना धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्