एकपछि अर्को विपत्ति खेप्दै किसान : लकडाउनका बीच बालीमा रोग र हावाहुरीको प्रकोप



महोत्तरी : कोरोना महामारीकै बीच महोत्तरीका किसान एकपछि अर्को विपत्ति खेपिरहेका छन्। लकडाउनले आफ्ना उत्पादन बजार पुर्‍याउन नसकेर पिरोलिएका किसानलाई बालीमा रोगको प्रकोप र यसैबेला हावाहुरीको विपत्ति खेप्नु परेको छ।

पछिल्लो पटक सोमवार साँझको हावाहुरीले फलफूल सोत्तर पारेको छ। कैयौँ रोगब्याधबाट बचाइएको आँप, लिचीसहितका फल हावाहुरीले बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नपाइएको यहाँका किसान बताउँछन्।

‘यसपालि वैशाखी तरकारी धेरै बोटमै बुढिए, कति पशुवस्तुलाई खुवाइयो’, गौशाला नगरपालिका(१२ का किसान रामईश्वर रायले भने, ‘मकै फौजी किराले सोत्तर बनायो, अहिले हावाहुरीले बोटको आँप सद्दे राखेन।’

कोरोना सन्त्रास छल्न जारी लकडाउनभित्रै सबै विपद् किसानकै टाउकामा बज्रँदै आएका रायको बिलौना छ।

सोमवार साँझको हावाहुरीले आँप, लिचीसहितका फल बग्रेल्ती झार्नुका साथै कतिपय ठाउँमा रुखै ढालेपछि किसान आफूमाथि परेको विपत्ति हेर्दै टोलाएका छन्।

‘अब गुजाराको अन्तिम आस गरिएको आँप बगैँचाले पनि साथ दिएन,’ रायले भने।

पछिल्लो हावाहुरीले जिल्लाका गौशाला, औरही, रामगोपालपुर, लोहारपट्टि, बर्दिवास र भङ्गाहा नगरपालिका क्षेत्रमा बढी क्षति गरेको छ। हावाहुरीले पराले झुप्रा बस्तीमा बिचल्ली गराएको छ। घरका छाना उडाएर घरझुप्रा उदाङ्ग भएपछि गरिब बस्तीका बासिन्दा खुला आकाशमुनि कडा घामको राप खेप्न विवस भएका छन्।

हावाहुरीले कैयन ठाउँका विद्युतीय पोल ढालेर तार चुँडाएपछि कैयौँ बस्ती विद्युत् सेवाबाट वञ्चित भएका छन्। अहिले ढलेका पोल उठाउँदै तार जोड्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले बताए।

यसअघि आइतवार साँझ पनि हावाहुरीले जिल्लामा निकै क्षति गरेको थियो। लगातार दुई दिनको हावाहुरीले गरेको क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। स्थानीय तहका वडा समिति, प्रहरी ईकाइ विवरण संकलनमा जुटेका जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।

असिना र हावाहुरीले लाखौँको क्षति

धनुषामा गएराति आएको आँधीबेहरीले आँपमा ठूलो क्षति पुगेको छ।

आँप उत्पादनका लागि राम्रो मानिएको धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा केही दिनदेखि लगातार आएको हावाहुरी, असिना र पानीले लाखौँको क्षति पुर्‍याएको छ।

गत वैशाख १२ गते परेको असिना र जेठ ११ गते आइतवार साँझ आएको आँधीबेहरीले यस दुई पालिकामा आँपमा ठूलो क्षति पुगेको छ। लटरम्मै फलेको आँप असिना र हावाहुरीले करिब ८० प्रतिशत झारेपछि किसान चिन्तित छन्।

धनुषाको उत्तरवर्ती बटेश्वर र मिथिला क्षेत्रमा व्यावसायिकरुपमै आँपखेती हुँदै आएको छ। आँप सो क्षेत्रको मुख्य नगदेबाली हो। आँपकै आम्दानीले घरखर्चदेखि छोराछोरीको पढाइ खर्चसमेत चल्ने गरेको छ। यसपटक आँपमा फूल (मञ्जर) लागेदेखि नै लकडाउनले गर्दा औषधि छर्किन नपाएको किसानको गुनासो छ। अझ विगत केही दिनदेखिको प्राकृतिक विपद्को सामना गर्नुपर्दा अब घरखर्च कसरी चलाउने भन्ने चिन्ताले उनीहरुमा चिन्ता बढेको छ।

असिना र हावाहुरीले आँप झारेपछि किसानको लाखौँ रुपैयाँ क्षति भएको बताउँदै बटेश्वर(१, चित्रपुरका पिछडा वर्ग महासंघका केन्द्रीय महासचिवसमेत रहेका नथुनी कुशवाहाले भने, ‘मेरोमात्रै पाँचदेखि ६ लाख रुपैयाँको क्षति भएको छ। वार्षिक १० लाख रुपैयाँ आँपबाट आम्दानी हुन्थ्यो। यसपटक आँप खरिद गर्ने व्यापारीसमेत गाउँमा आउन सकेका छैनन्।’

लटरम्मै फलेको आँपको व्यापार यसपटक राम्रो हुने सपना देखेका किसानलाई लकडाउनले बजार पुर्‍याउने चिन्ता त छँदैथियो अहिले हावाहुरी असिना पानीले फलेको सबै आँप झारेपछि चिन्तामाथि चिन्ता थपेको छ।

यतिबेला बटेश्वर र मिथिला क्षेत्रका आँप बगैँचा र किसानको घर घरमा झरेको आँपको थुप्रो छ। किसान बिहानैदेखि झरेको आँप जम्मा गरिरहेका छन्। यसरी जम्मा गरेको आँप लकडाउनले गर्दा बजारसम्म लैजानसमेत किसानले नसकेको बटेश्वरका स्थानीयवासी शिक्षक रामवृक्ष महतोले बताए।

उनले भने, ‘अधिकांश आँप झरेको छ। यसपालि किसानलाई धेरै ठूलो क्षति भयो।’

वैशाख १२ गतेको असिनाले पुर्‍याएको क्षतिपछि स्थानीय जनप्रतिनिधि, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा संघीय सांसदको टोलीले समेत सो क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा उनीहरुले किसानलाई ठूलो क्षति भएकाले उचित क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

तर, अहिलेसम्म पनि क्षतिपूर्तिका लागि कहीँ कतैबाट पहल नभएपछि पीडित किसानले स्थानीय निकायमा ध्यानाकर्षणपत्र बुझाएका छन्। उचित क्षतिपूर्तिका लागि प्रदेश सरकारसमक्ष आफूले सक्दो पहल गर्ने बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्