जबरजस्ती गर्न खोज्ने भारतीय नागरिक पक्राउ 



जनकपुर :  एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । 

चार दिनअघि धनुषाको मिथिला नगरपालिका हरिहरपुरमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको घटना सेलाउन नपाउँदै जनकपुरमा पनि यस्तो घटना भएको हो । 

आइतवार साँझ करीब ७ बजे जनकपुर १२ कुआरामपुरबाट क्याम्पस चौक जाने बाटोनजिक एक चौरबाट अन्दाजी १० वर्षिय बालिकालाई प्रलोभन देखाएर सुनसान स्थानमा बलात्कार गर्न खोज्दा स्थानीय वासिन्दाले पक्राउ गरेका थिए । 

स्थानीयले ती व्यक्तिलाइ्र्र नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा हाल जनकपुर ४ मालपोत कार्यालयनजिकै डेरा लिई बस्दै आएका भारत, बिहार राज्य बेतिया जिल्ला जमुनिया निवासी सञ्जय ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

द नेपाल टपसँग कुरा गर्दै धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जनकपुरमा राजमिस्त्रीको काम गर्दै आएका भारतीय नागरिक ठाकुरले आफूसँगै लेबरमा काम गर्दै आएकी जनकपुर १२ रामपुर निवासी एक महिलाकी छोरीलाई घरबाट लगेर अभद्र व्यहार गरेको आरोपमा पक्राउ गरिएको हो । 

साथै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिदै समाजमा नकारात्मक असर पर्नसक्ने भएको हुनाले पीडित बालिका र उनको आमाको नाम भन्न नमिल्ने बताए । 

स्थानीयका अनुसार ठाकुरले धनुषा मेला घुम्न जानका लागि बालिकाको आमाले बोलाएको भनी घरबाट लगेका थिए । साँझको बेला सुनसान बाटोमा लग्दै गर्दा बालिकाले डराएर जान मानेकी थिइनन् । त्यसपछि ठाकुरले नजिकै रहेको खेतमा लगेर बलात्कार प्रयास गर्दा बालिकाले कराउन थालेपछि नजिक रहेका स्थानीयले बालिकालाई बचाएका थिए । 

पीडित बालिकाको बुवाको मानसिक सन्तुलन ठीक नरहेको कारण आमा राजमिस्त्रीहरुसँग लेबरको काम गरी दैनिक गुजारा गर्दै आएकी छिन् । घटनाका दिन ठाकुरले बालिकाकी आमालाई  अबेरसम्म काममा अल्झाई गलत मनसायले घरबाट लगेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्