प्रदेश २ मा संक्रमितको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा ४६ संक्रमित थपिए



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये रौतहटका २२, बाराका ५, धनुषाका १, सिरहाका ५, महोत्तरीका २ र सप्तरीका ११ जना व्यक्तिहरु रहेका छन् ।

मंगलबारसम्म ९ हजार ८ सय ४६ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा २ सय ७९ जना संक्रमित भएका छन् । भने ७ हजार १ सय ७८ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै २ हजार ४ सय जनाको नतिजा आउन बाँकी रहेको छ ।

त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ६ हजार २ सय ३९ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार २ सय १९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रदेशमा संक्रमित २ सय ७९ मध्ये ९४ जना पर्साका, ७१ जना रौतहटका, ४१ जना बाराका, १२ जना धनुषाका, ६ जना महोत्तरीका, ३४ जना सर्लाहीका, ६ जना सिरहाका र १५ जना सप्तरीका व्यक्ति छन् ।

पर्सा जिल्लामा पीसीआर परीक्षणमार्फत संक्रमण प्रमाणित भएका २० जना पुरुष र ८ जना महिला गरि कुल २८ जनाको वीरगञ्ज महानगरपालिकास्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार भइरहेको छ भने जनकपुरधामको प्रादेशिक अस्पताल परिसरमा अवस्थित नर्सिङ्ग क्याम्पसमा सञ्चालित कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुष गरि कुल २६ जनाको उपचार भइरहेको छ । त्यस्तै सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको आइसोलेशन कक्षमा १५ जना संक्रमितलाई राखिएको छ ।

त्यस्तै रौतहटको गौर नर्सिङ्ग इन्स्टिच्युटमा रहेको आईसोलेशन कक्षमा १ महिला र १७ पुरुष गरि कुल १८ जना संक्रमितहरुको उपचार भइरहेको छ भने रौतहटकै गौर नगरपालिकामा रहेको गौरीशंकर क्याम्पसमा सञ्चालित आईसोलेशन कक्षमा २ जना संक्रमित पुरुषहरुलाई राखिएको छ । रौतहटकै राजपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेशन कक्षमा २५ जना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

सर्लाहीको मलंगवास्थित अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आईसोलेशन कक्षमा १२ जना संक्रमित पुरुषहरुलाई राखिएको छ । त्यस्तै ३६ पुरुष र १ महिला गरि कुल ३७ जनाको बारा जिल्लास्थित कोरोना विशेष अस्पतालमा,५ जना पुरुषको सिरहास्थित महेन्द्र गेनाई अस्पतालमा र महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा सञ्चालित कोरोना विशेष अस्पतालमा २ जना संक्रमित पुरुषहरुको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेश २ को बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १६ हजार ४ सय ३८ बेड क्षमताको २ सय ९१ वटा क्वारेन्टाइनमा अहिले १२ हजार ६ सय ३८ जनालाई राखिएको छ भने ४ हजार ८ सय ३८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ५ सय ७१ बेड क्षमताको आईसोलेशनमा १ सय ८३ जना शंकास्पद बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्