‘शरीरभरि मासुका डल्ला, कष्टपूर्ण जीवन’



ढल्केवर : शरीरभरि अनौठो मासुको डल्लो पलाएको छ, कसैले हेर्दा पनि उनलाई घृणा गर्छ, कतिले त उनलाई हेर्दै थुथु र छिछि गर्न थाल्छन ।

यो संसारबाट कति चाँडो गइहालुँ जस्तो लाग्छ उनलाई तर उनलाई आफ्ना सन्तानले बाँच्न प्रेरित गरिरहेका छन । हो, यस्तै जीवनमरणको दोसाँधमा पीडा लिएर बाँचिरहेका छन्, महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा न १ रामनगर बस्ने ३६ बर्षका धनेश्वर महतो । 

कसैले आफूलाई हेर्दा दिक्क मान्छन् उनी । ‘कतै हिडडुुल गर्नसमेत मन लाग्दैन । मलाई देखेर फर्की–फर्की हेर्ने र कुरा काट्दै हिँड्छन मान्छे, बालबालिका डराउँछन, शरीरको डल्लासँगै मानिसको व्यवहारले सताउँछ मलाई’ धनेश्वरले भने ।

धनेश्वरको जन्मदै औंलामा एउटा गिर्खा थियो । एक वर्षको हुँदा उनका अभिभावकले त्यो गिर्खालाई लौवा (हजाम) कहाँ लगेर काट्न लगाए । त्यसपछि उनको शरीरभरि मासुको डल्ला पलाएको आमा रामवती देवी महतोले बताइन् । ‘जन्मदा दाहिने हातको एउटा औंलामा एउटा मात्र गिर्खा थियो । त्यसलाई काटेपछि शरीरभरि मासु पलायो’, उनले भनिन, ‘हामीले त हातमा हुँदा राम्रो देखिंदैन, तेल मालिस गर्नसमेत असहज हुन्छ, त्यही भएर काट्न लगायौं ।’

शरीरमा पलाएको मासु देखेर साथीहरु घृणा गर्न थालेपछि  १० कक्षाको पढाई पूरा नगर्दै टुंग्याए धनेश्वरले बताए । ‘विद्यालयमा साथीहरुले गरेको व्यवहार सम्झेर राति– राति रुन मन लाग्थ्यो, साथीहरु मलाई देखेर परपर भाग्थे, घिन मानेको सहनै सकिनँ’, विद्यार्थीकालिन दुःखदायी दिन सम्झिदै धनेश्वरले सुनाए, ‘त्यसपछि स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके ।’

उनको शरीरदेखि पैतालासम्म जताततै मकैको दानादेखि आलु आकारका मासुको डल्ला छन् । सुत्दा, बस्दा मासुको डल्ला थिचिएर असह्य दुख्ने उनले बताए । ती पीडाको बयान गरी साध्य नभएको उनको भनाइ छ । पिठ्युको ठूलो डल्लो त  अडेस लाग्दा, सुत्दा थिचिएर कहिलेकाहीं फुट्छ । कहिलेकाहीं रगत समेत आउँछ,’ उनले भने, ‘सहेरै बस्नुपर्ने बाध्यता छ । कहिलेकाहीं त जीवन बाँच्नुुभन्दा मर्नु वेश लाग्छ, तर छोराछोरी र जहानलाई सम्झेर पीडा बिर्सन बाध्य हुन्छु ।’

अहिले पनि उनको दुःख गएको छैन । गाउँ नजिकैको बजार जाँदा, गाडी चढ्दा मान्छेहरु तर्सिने गरेको उनले बताए । बसको सिटमा बस्दा सँगैका यात्रु सिट छोडेर जान्छन् । ‘कोही नराम्रो वचन बोल्छन, बालबालिका डराएर भाग्छन’, उनले भने, मेरोजस्तो पीडा अरु कसैलाई नहोस् ।

मानिसका यस्ता व्यवहारले उनी रातभर घरमा सोच्छन् । मेरो पीडा बुझ्ने यो संसारमा भगवान् नै छैन, धनेश्वरले भने, बुबा त बित्नु भो, आमा, जहान, छोराछोरी र भाइको साथ सहयोगले बाँचिरहको छु । टोलछिमेकीको माया र सहयोगले पीडा बिर्सन सहयोग गरेको उनले बताए ।

धनेश्वरले सानोतिनो कामबाहेक अरु केही गर्न सक्दैनन्, उनकी श्रीमती तीलादेवी महतोले बताइन् । औषधि उपचार गर्दा कति खर्च भयो कति तर अलिकति पनि ठीक भएको छैन,’ उनले भनिन, ‘श्रीमानको अवस्था हेरेर बढी पीडा मलाई हुन्छ, तर के गर्नु उपाय नै के छ र?

प्रतिक्रिया दिनुहोस्