कार्यदलसँग छलफलपछि मात्रै सांगठनिक एकीकरण 



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित नेकपाको कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा प्रस्तुत प्रतिवेदनका विषयमा कार्यदलकै पदाधिकारीलाई राखेर सामूहिक निर्णय गर्न उपयुक्त हुने भन्दै बैठकले बिहीबार पुनः बस्ने गरी स्थगीत भएको छ । 

कार्यदलका सबै सदस्यलाई नै राखेर सामूहिक छलफल गरौं र टुंग्याऔं भन्ने निष्कर्षमा बैठक पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने । उनले  त्यसका लागि बिहीबार बिहान ९ पुनः सचिवालयको बैठक बस्ने जानकारी दिए ।   बिहीबार बस्ने बैठकले नै सांगठनिक एकीकरण प्रक्रिया टुंगो लगाउने उनले बताए ।

गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिंदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलको संयोजकमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए।

कार्यदलको  प्रतिवेदन तयार नहुँदै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। अकस्मात प्रतिवेदन बुझाउन निर्देशन पाएपछि कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष बुझाएको थियो । 

प्रतिक्रिया दिनुहोस्