सीमानाकाबाट नेपालीहरुको उच्च आगमनका कारण व्यवस्थापनमा समस्या



जनकपुरधाम : प्रदेश नम्बर २ मा १ सय ९ वटा नाका र खुला सिमा भएका कारण कोरोना नियन्त्रण चुनौतिपूर्ण र जटिल रहेको देखिएको छ ।

पछिल्लो समयमा खुला सिमानाकाबाट ठूलो संख्यामा नेपाली नागरिकहरु नेपाल भित्रिएका छन् । यसरी भित्रिएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नका लागि सिमावर्ती क्षेत्र तथा स्थानीय तहमा क्वारेन्टाइनको निर्माण र सञ्चालन भइरहेपनि उच्च आगमनका कारण व्यवस्थापनमा बिभिन्न समस्या र कठिनाईहरु बढिरहेको सरकारले जनाएको छ ।

यस प्रदेशका सम्पूर्ण जिल्लामा देखिएका अधिकांश कोरोना संक्रमितहरु खुला सिमानाकाबाट आएका वा त्यसरी प्रवेश गरेकाहरुको सम्पर्कमा आएकाहरुमा बढि संक्रमण देखिनुले पनि खुला सिमाना व्यवस्थापन वा दुई देशबीचको आवतजावतलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

उनले कोरोनाभाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ लाई पालना गर्न आग्रह गर्दै यस मापदण्डले निर्देश गरेको बिषयहरुलाई अनुशरण गर्न नसकिए थप समस्या निम्तनसक्ने सम्भावना तर्फ सम्पूर्ण स्थानीय तह र सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराए ।

तिब्र जोखिम न्यूनिकरणका लागि क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न आवश्यक रहेकोले प्रदेशका आठवटै जिल्लामा रहेका जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानीय तहहरुले प्रत्यक्ष व्यवस्थापनमा सञ्चालन भईरहेको क्वारेन्टाइनलाई विशेष प्राथमिकतामा राखि तत्काल सो केन्द्रहरुमा आवश्यक शौचालय,खानेपानी र फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन समेत सचिव घिमिरेले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

उनले स्थानीय स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक अस्पतालहरुले आधारभूत परामर्श तथा प्रेषण सेवा प्रदान गर्नुपर्ने व्यवस्था रहेकोले स्थानीय क्षेत्रमा स्वास्थ्य सचेतना र आवश्यक परामर्श सेवा प्रदान गर्न आग्रह गर्दै शंकास्पद बिरामीलाई नजिकको कोभिड क्लिनिक वा तोकिएका कोभिड अस्पतालमा समन्वय गरि एम्बुलेन्स मार्फत प्रेषण गर्न समेत स्वास्थ्य संस्थाहरुसँग अनुरोध गरेका छन् ।

यसैबिच,गृहमन्त्रालयको आदेश पाएलगत्तै धनुषा जिल्लासँग सिमा जोडिएको जटही नाकामा रहेका नेपालीहरुलाई स्थानीय प्रशासनले नेपाल भित्र्याउन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ १३ गतेसम्म नेपाल भारत सिमाको जटही नाकावाट १ हजार ४ सय ६७ जनालाई नेपाल प्रवेश गराएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ ४ गतेबाट सुरु गरेको उद्धार कार्य अन्तर्गत पहिलो दिन अर्थात जेठ ४ गते ६१,जेठ ५ गते ६९, जेठ ६ गते ३६, जेठ ७ गते ८१,जेठ ८ गते ६०, जेठ ९ गते २ सय ७,जेठ १० गते १ सय १३,जेठ ११ गते २ सय ७,जेठ १२ गते २ सय ८८ र जेठ १३ गते ३ सय ४५ जना गरि कुल १ हजार ४ सय ६७ जनालाई जटही नाकाबाट नेपाल प्रवेश गराएको छ ।

स्थानीय प्रशासनले मंगलबारदेखि धनुषा जिल्लाको खजुरी नाकाबाट समेत भारतमा अलपत्र परेकाहरुलाई नेपाल ल्याउने काम सुरु गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।

यहाँबाट भारतका विभिन्न राज्यहरुमा मजदुरी गर्न गई त्यहाँ फँसेका नेपाली नागरिकहरुलाई सरकारले सम्बन्धित जिल्लाको स्थानीय प्रशासन मार्फत नेपाल फर्काउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्