लुटपाटमा संलग्न तीनजना पक्राउ



महोत्तरी : लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना भारतीय नागरिक रहेका छन् ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाही, लालबन्दी नगरपालिका २ पुनर्बास बस्ने शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का उपेन्द्र यादवलाई पक्राउ गरिएको हो ।  

गत पुस २२ गते मनरा नगरपालिका २ स्थित भेलहीका रामसेवक यादवको घर गोदाममा भएको लुटपाटमा संलग्नताको आरोपमा तीनै जनालाई पक्राउ गरिएको महोत्तरीका डिएसपी खगेन्द्र खड्काले बताए ।   लुटपाटको खबर पाएलगत्तै गएका प्रहरी टोली र लुटेरा समूहबीच गोली हानाहानसमेत भएको थियो ।

प्रहरीले पक्राउ परेकाहरुका साथबाट चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेकाहरुको साथबाट ज १० प ३८७३ ग्लेमर मोटरसाइकल, भारतीय नम्बर प्लेटको होण्डा एक्स ब्लड मोटरसाइकल, ना ३८ प ५९७१ नम्बरको पल्सर, ना ५६ प ४२३५ नम्बरको एफजेड मोटरसाइकल बरामद भएको छ ।

त्यस घटनामा संलग्न रही फरार रहेका अन्य लुटेराहरुको ब्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्