सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक व्यक्तिको मृत्यु



धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार मात्रै भारतबाट फर्किएका कैलालीको गौरीगंगा नगरपालिका–९ का ५५ वर्षीय पुरुषको आज (बुधबार) बिहान ६ बजे सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार मंगलबार दिउँसो उनलाई गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा पुर्याइएको थियो । भारतबाट नेपालीहरुलाई ल्याएको बसले उनीसहितका यात्रुलाई बोर्डर पुग्न आधा किलोमिटर अगाडि नै एसएसबीको क्याम्प नजिक छोडेको थियो ।

त्यही बेहोस भएको खबर आएपछि नेपाली सीमा नाकामा राखिएको एम्बुलेन्सबाट उनलाई सेती अस्पतालमा पुर्याइएको सीमामा खटिएका धनगढी उप–महानगरपालिकाका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए ।

अस्पतालको इमरजेन्सीमा मंगलबार गरिएको आरडीटी टेस्ट भने नेगेटिभ आएपछि उनलाई आइसोलेसनमा सारिएको थियो ।

अहिले मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्