जटही नाकामा एक युवकको मृत्यु, आक्रोशित भीड नारावाजी गर्दै जनकपुर आउँदै



जनकपुरधाम– खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा एक युवकको मृत्यु भएको छ ।

भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि सो युवकको भोकको कारणमृत्यु भएको हो । मृतक यादव अहमदाबादमा होटलमा कुकको काम गर्दै आएका थिए ।

जटही नाकाबाट करिब ३ सय नेपाली लाठी, भाटा प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । प्रर्दशनको क्रममा उनीहरूले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका छन् ।

आक्रोशितहरुको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन। उनीहरु पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै यता तर्फ आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार सम्प्रेषण नगरेको भन्दै पत्रकार विरुद्ध समेत पर्दशन गर्दै जनकपुरधाम तर्फ उनीहरु आइरहेका छन् ।

यसैबीच उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुरधाम तर्फ आईरहेका उनीहरुलाई अहिले धनुषाको नगराइनमा ठुलो संख्यामा प्रहरी परिचालन गरि रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।

सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरुलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले आफुहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए ।

भारी संख्यामा सिमानाकामा अलपत्र परेका उनीहरूलाई गन्तव्यसम्म पुर्याउन स्थानीय प्रशासनले अहिले ३ वटा बस पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्